१२ बैशाख २०८१, बुधबार
Follow Us

पार्टी एकताको विषय भोलिसम्ममा टुङ्गिन्छ : अध्यक्ष दाहाल

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७४, मंगलवार १३:०१

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषय बुधबारसम्ममा टुङ्गो लाग्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टी एकताको विषयमा आज वा भोलि टुङ्गो लाग्ने बताउनुभएको हो । पद बाँडफाँडका विषयमा पनि भोलिसम्ममा टुङ्गो लाग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका–९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन आउनुभएका अध्यक्ष दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने बताउनुभयो । देशको विकासका लागि तीन ठूला दलबीच आपसी समझदारीको खाँचो रहेको बताउँदै उहाँले तीन दलबीच समझदारी बनाउने काम भइरहेको बताउनुभयो ।

फरक प्रसंगमा अध्यक्ष दाहालले तत्कालीन समयमा गरिएको बृहत शान्ति सम्झौताले दुरगामी परिवर्तन ल्याउन सफल भएको बताउनुभयो । नेपालमा भएको शान्ति सम्झौताले विश्वको ध्यान केन्द्रित गराउन सफल भएको उहाँको भनाइ थियो । कार्यक्रममा अध्यक्ष दाहालले विद्यालयले निर्माण गरेको शिशु कक्षादेखि कक्षा ५ सम्मको दुई तले नौ कोठे भवनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, मिलनबाबु श्रेष्ठलगायतले बोल्नुभएको थियो ।