७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री देउवा राजीनामा दिने तयारीमा

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७४, बुधबार ०६:३३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गर्नु भएको छ । राष्ट्रपतिलाई राजीनामा बुझाउन तयारी गरेपनि उहाँको राजीनामा निर्वाचन आयोगमा निर्भर रहने छ । निर्वाचन आयोगले आजै प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाए प्रधानमन्त्री देउवाले पनि लगत्तै राजीनामा दिने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ‘निर्वाचन आयोगले राष्ट्रपति समक्ष परिणाम बुझाउनासाथ प्रधानमन्त्रीको राजीनामा आउँछ’ भन्नु भएको छ । यसैबीच, निर्वाचन आयोगले आज कार्यालय समयभित्रै निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसका लागि राष्ट्रपतिसँग समय पनि माग गरिएको आयोगका पदाधिकारीले बताएका छन् ।

तर, दलहरुलाई समानुपातिक सांसदको नामावली सच्याएर बुझाउन निर्वाचन आयोगले दिएको थप दुई दिनको समयको आज अन्तिम दिन हो । आयोग दलहरुबाट संशोधित नामावली आउने पर्खाइमा छ । कांग्रेस, माओवादी र राजपाले यसअघि बुझाएको सूचीमा प्राथमिकता क्रम नमिलेपछि सच्याएर पुनः बुझाउन आयोगले आज पाँच बजेसम्मको समय दिएको छ । राजपाले हिजै संशोधित नामावली बुझाए पनि कांग्रेस र माओवादीले बुझाउन बाँकी छ ।

आयोगका पदाधिकारीले, ‘हामी दुई दलको नामावली पर्खिरहेका छौं । उनीहरुले जति छिटो नाम बुझाउँछन्, त्यति नै छिटो राष्ट्रपतिसमक्ष पेस गर्छौं । त्यसका लागि समय पनि मागिसकेका छौं’ भनेका छन् ।