१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेसले मंगलबार मन्त्रीको नाम बुझाउने

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७३, आईतवार ०६:०१

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार मात्रै मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने भएको छ । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि फर्केपछि मात्र मन्त्रीको लिष्ट प्रधानमन्त्री दाहाललाई बुझाउने तयारी गरेको बताइएको छ ।
नेपाल विद्यार्थी सङ्घको महाधिवेशन लम्बिँदा काँग्रेसबाट सरकारमा पठाउने नाम छनोटमा ढिलाइ भएको थियो । महाधिवेशन सम्पन्न भएकाले सम्भावित मन्त्रीहरूको नामावली पार्टी सभापति शेरबहादुर देउवाले तयार गरेको जानकारी उनीनिकट एक केन्द्रीय सदस्यले दिए ।
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसलाई १३ वटा मन्त्रालय भागमा परेको छ । त्यसमा उपप्रधानसहित गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखक नियुक्त भइसकेका छन् ।

अब काँग्रेसले ११ मन्त्रालयमा मन्त्रीको नाम पठाउने छ । यसका लागि मन्त्रालयको सङ्ख्याभन्दा दोब्बर सांसदको नाम सम्भावित मन्त्रीका लागि तयार छ । एक केन्द्रीय सदस्यका अनुसार, काँग्रेसले पठाउन लागेका सम्भावित मन्त्री र राज्यमन्त्रीको सूची लामो छ, त्यसबाटै मन्त्री हुने सम्भावना बढी छ ।
नेविसंघको निर्वाचनमा मजाले खटेका डा. प्रकाशशरण महतलाई परराष्ट्र मन्त्री बनाइने भएको छ भने शेखर कोइरालालाई पौडेलको कोटाबाट उनले रोजेको मन्त्रालय दिइने तयारी सभापति देउवाले गरेको बुझिएको छ । तर पौडेलले आफूलाई ४० प्रतिशत नदिएसम्म मन्त्रीको सिफारिस नगर्ने अडान लिएर बसेका छन् ।
यता देउवाले भने पौडेल पक्षलाई ३, शंसाकलाई एक र सिटौलालाई एउटा मन्त्रालय दिने तयारी गरेका छन् । शंसाकको सिफारिसमा दिपक गिरी मन्त्री बन्ने पक्काजस्तै भएको छ भने सिटौलाले भीमसेनदास श्रेष्ठलाई सिफारिस गर्ने बुझिएको छ । यदि पौडेलले तीनजनालाई नै सिफारिस गर्नुपर्ने कोषाध्यक्ष सीतादेवी यादव, कमल पन्त र रामकृष्ण घिमिरेलगायतलाई मन्त्रीमा सिफारिस गर्ने बुझिएको छ ।
यता सभापति देउवालाई आफ्ना सहयोगीलाई मिलाउन अझ कठिन रहेको बताइन्छ । १३ मन्त्रालयमध्ये दुईजना मन्त्री भइसकेका छन् । बाँकी ११ मन्त्रालयमा पौडेल पक्षका शेखरबाहेक तीनजना, शंसाक र सिटौला पक्षलाई मन्त्री दिइसकेपछि आफूसँग ५ मन्त्रालय मात्र बाँकी रहन्छ । यी पाँच मन्त्रालयमा बालकृष्ण खाणदेखि गोपालमान श्रेष्ठसम्मलाई अटाउनुपर्ने भएकाले सभापति देउवाका लागि भागवण्डा त्यत्ति सजिलो नहुने बताइन्छ ।
हिमाल, पहाड, तराईदेखि क्षेत्रीय र जातीय सन्तुलन मिलाउनका लागि सभापति देउवालाई निकै कठिन परेको दाबी ती केन्द्रीय सदस्यको छ ।

मन्त्रीको टुङ्गो लगाएपछि सभापति देउवाले पार्टीको उपसभापति, महामन्त्री, सहमहामन्त्री एक एक जना नियुक्त गर्ने तयारी पनि गरेको जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए । काँग्रेसले पार्टी प्रवक्तासमेत नियुक्त गरेको छैन ।