१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शिव कल्चरल कम्युनिटी सेन्टर यूकेमा महाशिवरात्री पर्व

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७४, बुधबार २०:१६

लन्डन । बेलायतका नेपालीले मंगलबार आराध्यदेव शिवको पूजा आराधना गरि महाशिवरात्री पर्व मनाएका छन् । बेलायतका विभिन्न शहरमा अवस्थित मन्दिरहरुमा भक्तजनहरुको घुइंचो लाग्यो ।

शिव कल्चरल कम्युनिटी सेन्टर यूके रसमुरले मंगलबार आफ्नै शिव मन्दिर परिसर एम्पायर हल अल्डरसटमा शिवरात्री पूजा गरि पर्व भव्य रुपमा मनाएको छ । कार्यक्रममा रसमुर वरिपरि क्याम्बर्ली, फ्लिट, अल्डरसट, फार्नबोरो, रेडिङ एवं लन्डन, वर्मिङघम, ब्राक्नेलबाट समेत श्रद्धालु भक्तजनहरु सहभागी भए । सांझ ७ बजे देखि शिवजीको आराधना, गणेश पूजा, रुद्रम मन्त्र वाचन गर्दै भजनकिर्तन, शिव महिमा र शिवलिंग पूजा गरियो । आरती सहित प्रसाद वितरण गरी मध्यरातमा पूजा सम्पन्न गरिएको थियो ।

फार्नबोरो साई समिति अध्यक्ष सुष्मा गुरुङ, स्प्रिच्यूअल कोओर्डिनेटर केबी गुरुङ, यशोदा राई गौतम, उपाध्यक्ष योगेन्द्र लिम्बु र विजय गोपालको अगुवाइमा सो शिवरात्री पूजा गरिएको सेन्टरले जनाएको छ ।

शिव कल्चरल कम्युनिटी सेन्टर यूके रसमुरका अध्यक्ष रोहित 
गुरुङका अनुसार, सो संगठनका उपाध्यक्ष क्याप्टेन गोपाल विश्वकर्मा, ग्रेटर रसमुर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष ओमप्रसाद थापा, भीम थापा र असिस्टेन्ट कल्चरल सेक्रेटरी रमा बानियांको सक्रियतामा सम्पूर्ण कार्यक्रम गरिएको हो ।

शिव कल्चरल कम्युनिटी सेन्टर यूकेले निकट भविष्यमै रसमोर क्षेत्रमा मन्दिर स्थापना गर्ने लक्ष्य अनुरुप काम गरिरहेको छ । सेन्टरले नेपाली संस्कृति तथा धर्मको जगेर्नाका लागि नियमित कर्म गर्दै आएको छ ।

उता, साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपति मन्दिर परिसरमा समेत शिवरात्री मनाइएको खबर छ । पण्डित निलहरि घिमिरेका अनुसार, बिहान ७ बजेदेखि दर्शन अभिषेक, रुद्री पूजा, भजन कृतन, शिवरात्री सम्बन्धि प्रवचन, लाख बत्ती प्रज्वलन, आरती तथा प्रसाद वितरण गरि बिहानी सत्र समापन गरियो भने बेलुका ५ बजेदेखि पुनः विशेष भजन कीर्तनका तथा प्रसाद वितरण गरिएको थियो ।