१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रपति निर्वाचन फागुनभित्रै

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७४, बिहीबार १२:२५

काठमाडौं । राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा राजनीतिक दलका प्रतिनिधिसंग विस्तृतरुपमा छलफल भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विभिन्न सरोकारवालासँग छलफल गरेर फागुन महिनाभित्रै निर्वाचन सम्पन्न गर्ने गरी आयोगले मिति घोषणा गर्ने जानकारी दिनुभयो । आयोगकातर्फबाट यही फागुन महिनाको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकासहितको प्रस्तावलाई दलहरूले समर्थन गरेका थिए । राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने र संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ रहने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसैबीच राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरूलाई निर्वाचन खर्च समयमै बुझाउन आयोगले दलहरूसँग आग्रह पनि गरेको छ । छलफलमा नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डे, अग्नि खरेल, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, डा. मीनेन्द्र रिजाल, नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो र केशव झा तथा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र डा. शिवजी यादव सहभागी हुनुहुन्थ्यो ।