१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७४, बिहीबार १२:२९

सिमरा । मुलुकमा बढ्दो बेरोजगारीको कारण बाराको सिंगो गाउँको ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुर गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । यादव र मुस्लिमको बसोबास रहेको हरपुरका युवा वैदेशिक रोजगारीमा छन् । उनीहरु वैदेशिक रोजगारीको शिलशिलामा मलेशिया, कतार, दुबई, ओमान, साउदी अरबलगायत मुलुकमा रोजगारीमा रहेका छन् ।

सामान्य लेखपढ गरी कमाउँदै आएको रकमबाट घर खर्चसमेत चलाउन धौधौ परिरहेको बेला गाँउका युवा विस्तारै विदेशिने क्रम बढेको छ । यहाँको कमाइले छाक टार्न धौधौ पर्न थालेपछि युवा विदेशिने क्रम बढेको हो । दुई दशक पहिला बसोबास गर्नेकोे अवस्था निकै दयनीय थियो । गाउँमा स–साना कच्ची घरमात्र थिए ।

“पहिलापहिला गउँमा एउटा÷दुईवटा पक्की घर थिए, अहिले गाउँमा पक्की नै पक्की घर देख्न पाइन्छ,” स्थानीयवासी गीता थापाले भन्नुभयो । चार सय ७० घरधुरी रहेको हरपुरका युवा विदेशमा श्रमगरी पर्याप्त कमाइ गर्न थालेपछि गाउँको मुहारै फेरिन थालेको छ । गाउँको प्रत्येक घरमा एक जनादेखि पाँच जनासम्म विदेशमा गई श्रम गरिरहेका छन् ।

विदेशको कमाइबाट गाउँका युवाले साना तथा ठूला सवारीका साधन समेत जोडिसकेका छन् । विदेशको कमाइले स्थानीयवासीले जग्गा जमिन जोड्दै छोराछोरीलाई महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउन थालेका छन् । “छ वटा छोरामध्ये चार छोरा विदेशमा श्रम गरिरहेका छन्,” स्थानीयवासी करिसन खातुनले भन्नुभयो । गाउँको ६०० भन्दा बढी युवा विदेशमा गई श्रम गरेपछि मासिक रु ५० लाखभन्दा बढी रकम भित्रिने गरेको वडा नं २४ वडाध्यक्ष इलियास अन्सारीले बताउनुभयो ।