१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपतिको चुनाव फागुन २१ मा गर्न प्रस्ताव

sarusaru
४ फाल्गुन २०७४, शुक्रबार ०४:०५

निर्वाचन आयोगले फागुन २१ गते राष्ट्रपतिको चुनाव गर्न प्रस्ताव गरेको छ । बिहीबार निर्वाचन आयोगमा राष्ट्रिय मान्यता प्राप्त पाँच राजनीतिक दलका नेतासँग छलफल गर्दै आयोगले फागुन २१ गतेको मिति प्रस्ताव गरेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सरकारसँग परामर्श गरेर केही दिनभित्रै चुनावको कार्यतालिका घोषणा गर्ने तयारीमा आयोग छ ।

नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले फागुन २१ मा राष्ट्रपतिको निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको र त्यसमा दलहरूले सहमति जनाएको जानकारी दिनुभयो । आयोगले उपराष्ट्रपतिको चुनाव चैत १ गते प्रस्ताव गरे पनि राजनीतिक दलसँगको छलफलमा चैत ३ गते उपयुक्त हुने सुझाव दिइएको थियो ।
राष्ट्रपतिको निर्वाचन संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसद् र प्रदेशसभा गरी कुल ८८४ मतदाता हुनेछन् ।
राष्ट्रियसभा र प्रतिनिधि सभा गरी ३३४ जना सदस्य छन् । यसैगरी प्रदेशसभाका ५५० सदस्य निर्वाचित भइसकेका छन् । निर्वाचनमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ र त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ ।