१५ चैत्र २०८०, बिहीबार
Follow Us

चार्ल्टन समाजले चुन्यो नयाँ कार्यसमिती अध्यक्षमा टंक कंडेल

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७३, आईतवार १८:२२

फडिन्द्र भटराई , लन्डन
साउथ ईष्ट लन्डनमा क्रियाशील स्थानीय नेपालीहरुको सामुदायिक संस्था चार्ल्टन नेपाली समाजले साधारण सभा मार्फत नयाँ कार्यसमितीको चयन गरेको छ ।
चार्ल्टन मेरिडियन स्पोर्ट्स हलको सभाकक्षमा आयोजित समाजको वार्षिक साधारण सभाले समाजको अध्यक्षमा यस अघी दुई कार्यकाल उपाध्यक्ष रहिसकेका टंक कंडेल लाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने अध्यक्ष लगायत समाजको सिंगो कार्यसमिती सर्वसम्मत रुपमा नै चयन भएको छ ।
यस अघी उपाध्यक्षको एउटा पदमा कृष्ण खरेल र फुल प्रसाद कंडेलको उमेद्वारी परेपनि तोकिएको समय पूर्व उपाध्यक्षका एक दावेदार फुल प्रसाद कंडेलले आपसी सहमतीमा आफ्नो उम्मेद्वारी फिर्ता लिए पछी सबै पदमा सर्वसम्मत छनौट भएको हो ।
यसरी समाजको नयाँ कार्यसमितीमा सर्वसम्मत चयन हुनेहरुमा उपाध्यक्षमा कृष्ण खरेल , सचिवमा सुशील खरेल, कोषाध्यक्षमा रेखा खरेल , सह सचिवमा हरि कुमार मल्ल र सदस्यहरुमा सुमित्र रोक्का , गीता न्युपाने, सिता अर्याल , आनन्द लोहनी र माधव श्रेष्ठ रहेका छन ।
चयन पश्चात कार्यसमितीका नव निर्वाचित पदाधिकारी तथा सदस्य हरुलाई निर्वाचन समितीका अध्यक्ष होम शर्माले प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचित सदस्यहरु लाई निर्वाचन समितीकै दाशु पाण्डेले पद तथा गोपनियताको सपथ गराएका थिए । समाजको निर्वाचन सम्पन्न गर्न यस अघी होम शर्माको अध्यक्षतामा दाशु पाण्डे, नरेन्द्र कंडेल , एल एन पाण्डे र रेशम अर्याल सम्मिलित निर्वाचन समिती गठन गरिएको थियो ।
समाजको अध्यक्षमा निर्वाचित भए पछी बोल्दै अध्यक्ष टंक कंडेलले आफुले समाजका सदस्य , अग्रज तथा सल्लाहकार हरुको सल्लाहमा अघी बढने प्रतिवद्दता जाहेर गरेका थिए । समारोहमा उपस्थित सामाजिक व्यक्तित्वहरुले नयाँ कार्यसमितीलाई शुभकामना व्यक्त गरेका थिए ।
निर्वाचन प्रक्रिया पूर्वको सेसनमा निर्वतमान अध्यक्ष रोमनाथ पाण्डेको अध्यक्षतामा एजिएम को औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । सचिव टि एन रिजालले संचालन गरेको उक्त सत्रमा बिभिन्न वक्ताहरुले ए जी एम सफलताको मन्तब्य दिंदै स्थानीय संस्थाको रुपमा चार्ल्टन समाजको महत्व माथी प्रकाश पार्दै यसपूर्वको कार्यसमितीका क्रियाकलाप हरुको मुक्तकण्ठले प्रशंसा गरेका थिए । शुभकामना दिने क्रममा एन आर एन उपाध्यक्ष दाशु पाण्डे , पशुपती मन्दिर समितीका अध्यक्ष बालजंग अर्याल , ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजन कंडेल , समाजका सल्लाहकार नबिन सापकोटा , सिता अर्याल लगायतले बोलेका थिए ।
यसैगरी सोही अवधीमा कोषाध्यक्ष कृष्ण खरेल द्वारा आर्थिक प्रतिवेदन र सचिव टि एन रिजालले प्रस्तुत गरेको कार्यसमितीको प्रतिवेदन लाई साधारण सभा बाट पारित गरिएको थियो ।
पहिलो सत्रको कार्यक्रमको समापन सम्बोधन गर्दै अध्यक्ष रोमनाथ पाण्डेले आफ्नो कार्यकाल सफल पार्न लागी पर्ने कार्यसमिती , सल्लाहकार तथा समाजका सदस्यहरु प्रति आभार व्यक्त गरेका थिए । साथै उनले निर्वाचन उन्मुख नयाँ कार्यसमितीलाई सफलताको शुभकामना दिंदै समाज प्रतिको आफ्नो सहयोग र सहकार्य सदैव रहने प्रतिवद्दता व्यक्त गरेका थिए ।
सामाजिक सक्रियताको हिसाबले चार्ल्टन समाजलाई बेलायतमा एक उदाहरणीय संस्थाको रुपमा चिनिन्छ । समाजले शुरु गरेर सफल संचालनमा ल्याएको केटाकेटी हरुको नेपाली भाषा कक्षा कार्यक्रम “लर्न नेपाली प्रोग्राम” लाई बेलायतमा एक उदाहरणको रुपमा हेरिन्छ ।
सन् २०११ स्थापना भएको चार्ल्टन नेपाली समाजका संस्थापक अध्यक्ष सुरज केसी हुन ।