८ बैशाख २०८१, शनिबार
Follow Us

बादलको नेतृत्वमा माओवादीले मन्त्री पठाउने

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७४, शुक्रबार ११:३४

काठमाडौं । माओवादी केन्द्रले रामबहादुर थापा (बादल)को नेतृत्वमा मन्त्री पठाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले बिहीबार नै माओवादीका मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी गरेका थिए । तर, आन्तरिक विवादले विहीबार माओवादीका तर्फबाट मन्त्री बन्ने भनिएकाहरुले सपथ लिन पाएनन् । छिट्टै पार्टीभित्रको विवाद मिलाएर नेता थापाको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने तयारी गरेको स्रोतको भनाइ छ ।

थापालाई यसअघि राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी भएको थियो । यद्यपि, अन्तिम समयमा आएर थापाले मन्त्री बन्ने लोभ देखाएका कारण बिहीबारको सपथमा केही समस्या भएको स्रोतको दाबी छ । तर, सरकारमा कसले नेतृत्व गरेर जाने भन्ने विषयमा माओवादीभित्र विवाद भएका कारण बिहीबार माओवादीका मन्त्रीले सपथ लिन नसकेका हुन् ।

ओली नेतृत्वको सरकार माओवादीका तर्फबाट नेता वर्षमान पुनले गर्न चाहेका थिए । तर, अर्का नेता थापाले सरकारको नेतृत्व गरेर मन्त्री बन्ने इच्छा जनाएपछि माओवादीभित्रकै आन्तरिक विवादले बिहीबार मन्त्री बन्ने अवसर नमिलेको हो ।