६ चैत्र २०८०, मंगलवार
Follow Us

केपी ओलीको पहिलो र अन्तिम चुनौति प्रचण्ड हुन्

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७४, शुक्रबार १४:२४

सुरेन्द्र केसी, राजनीतिक विश्लेषक
अहिले बनेको केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारले अबका दिनमा झेल्नुपर्ने चुनौति, पहिला र अहिलेको सरकारमा के भिन्नता पाइन्छ । ती विभिन्नता व्यवहारमा देख्न पाइन्छ । नयाँ सरकारको चुनौतिको सन्दर्भमा चन्द्र धामीले राजनीतिक विश्लेषक प्रा. सुरेन्द्र केसीसँग गरेको कुराकानी–

० केपी ओलीको सत्तारोहण कस्तो होला ?
– नयाँ चरित्र आइहाल्छ, नयाँ कुराको सुरुवात होला भन्ने मेरो दिमागमा छैन । उहाँहरुले केही कुरा गरेर देखाउनुभयो वा नेपाली जनताले आशा गरेको पुग्योस्, हाम्रो शुभकामना । यस विषयमा वादविवाद गर्नुपर्ने केही छैन ।

० चमत्कार गर्नुभयो भने ?
– चमत्कार चाहिएको छैन, सामान्य रोजगारी भएन, देशको अन्तर्राष्ट्रिय पहिचान र चरित्रलाई पनि मेन्टेन गरिएन, राइट म्यान, राइट प्लेस पनि भएन, नेपालको प्रधानमन्त्री, मन्त्री र राजदूत भन्ने वित्तिकै मान्छेलाई घृणाजस्तो लाग्ने, अनास्थाजस्तो पैदा हुने गरेको छैन । हरेक ठाउँमा त्यही दोहोरियो, संवैधानिक नियुक्तिमा, प्रहरी प्रशासनलाई तहसनहस बनाइयो, राज्यको संयन्त्रलाई निजीकरण, व्यक्ति गरियो र पारिवारिकरण गरेर दुरुपयोग भयो । राज्यको ढुकुटी जथाभावी गरियो, करोडौं रुपैयाँ उपचारका नाममा नेताहरुले खल्तीमा हाल्ने काम भयो । यसले गर्दा नेपालको इमेज नै अन्तर्राष्ट्रियरुपमा एकदमै बिग्रियो ।
यो गलत हो, यसो गर्नु हुन्न, प्रणालीबद्ध जानुपर्छ, राज्यप्रणाली पारदर्शी हुनुपर्छ भन्ने एउटा म्यासेज मात्र दिन सक्यो भने मलाई लाग्छ, त्यो लाख हुन्छ ।

० सत्तामा बसेलगत्तै प्रधानमन्त्रीले गर्नुभएको निर्णयले आश जगाउँछ ?
– निर्णय महत्वपूर्ण कुरा होइन, किनभने हामी निर्णय गरेर कार्यान्वयन गर्न सक्ने अवस्थामा पुग्यौं । आर्थिक परनिर्भरता एकदमै बढेर गयो, जे जति औद्योगिक संरचना थिए, ती सबै हामीले ध्वस्त पा¥यौं ।
अहिले सबैको हातमा मोबाइल छ, सडकमा गाडी चढेर हिडेका छन्, यो नै समृद्धिको द्योतक हो भन्नुहुन्छ, डा. रामशरण महत । म भन्छु्, त्यस्तो होइन । किनभने उत्पादकत्व बढेको छैन, रोजगारी बढेको छैन । उपभोक्ता बढेअनुसार नै रेमिट्यान्स बाहिर गइरहेको छ । यो आर्थिक विकासको द्योतक होइन ।

० के खाऊ के लाउ भन्ने अवस्था त होइन रहेछ नि ?
– २० वर्षपछि म पशुपतिनाथ मन्दिर परिसरमा पुगेको थिएँ । त्यो परिसरको वातावरण हेर्दा, त्यहाँका मानिसको स्वरुप हेर्दा, त्यहाँको रोदन, क्रान्दन हेर्दा मलाई भक्कानो छुटेर आयो, बागमतिमा हामफालेर मरुकी जस्तो लाग्यो । मेरो देशको राजधानी, हिन्दू मात्राको आस्थाको केन्द्र आज यो अवस्थामा छ, हामीले केही गर्न सकिरहेका छैनौं । त्यसपछि बागमतितर्फ लागें, १२ अर्ब त्यसको सफाइमा खर्च गरियो भन्ने सुनें, लीलामणि पौडेल त्यही बागमति सफाइको नाममा चीनको राजदूत भए । उनी बेइजिङमा कति सफा लुगा लगाउँदा हुन्, कति मीठो खाँदा हुन्, तर बागमति हेर्दा एकदमै भक्कानो छुटेर आयो । काही पनि हामीले परिवर्तनको संकेत दिन सकेनौं । जवाफदेहीता काहिँ पनि लिन सकेनौं । सडक, यातायात, शिक्षणसंस्थामा हेरियो भने त्यत्तिकै ठिट लाग्दो छ । हेर्नुस् विश्वविद्यालयका पदाधिकारीमाथि लागेको आरोप । यस्ता कुरा सम्झदा मात्रै पनि टाउको फुट्लाजस्तो हुन्छ । यी साधारण जो कुराहरु छन्, यसमा मात्रै केपी ओलीले आफ्नो उपस्थिति देखाइदिने हो भने म त्यसलाई लाख मान्छु, धन्य हुन्छु ।

० बागमतिमा हाम नफाल्ने स्थिति ओलीले ल्याउनु हुन्न भन्ने विश्वास लाग्दैन ?
– लाग्दैन । किनभने उहाँको हातमा छैन । बागमतिमा पानी चाहिन्छ, पानी नै छैन, कहाँबाट ल्याउने ?

० त्यत्रो मेलम्ची आउँदैछ ?
– मेलम्ची खान आँ गरेर बसेका छौं, हामीलाई नै चाहिएको छ, बागमतिमा खन्याउन सकिन्न । मलाई लाग्छ, मेलम्चीबाट पनि पानी आपूर्ति हुँदैन, किनभने गाडीको दृष्टिकोणले यहाँको सडक ३ लाख क्षमताको हो, अहिले नै १३ लाख गाडी होलान् काठमाडौंमा । हाम्रा सडक कत्रा छन्, हामीलाई कत्ति गाडी चाहिन्छ, हाम्रो पूर्वाधार कस्तो छ भन्ने कुरा हामीले हिजै सोच्नुपथ्र्यो ।
आज एउटै घरमा ३–४ वटा गाडी होलान् । ५ वटा टेलिभिजन सेट होलान् । तर आज यो नै हाम्रा लागि कंक्रिट भएको छ । प्रजातन्त्र यस्तो हुँदैन, प्रजातन्त्र ३ वटा कुरामा हुन्छ । पारदर्शीता, जवाफदेहिता र मेरिटोक्रेसी मात्र डेमोक्रेसी हो, बाँकी केही पनि होइन । तर नेपालमा यी तीन कुरा काही पनि छैन । भोलि यहाँ भागवण्डामा परराष्ट्रमन्त्री नियुक्त हुन्छ, त्यो अयोग्य हुन्छ भन्ने कुरा म अहिले ठोकेर भन्दिन्छु । सँगसँगै गलत पनि हुन्छ । केपी ओलीलाई मेरो आग्रह, केपी ओली प्रधानमन्त्री भएपछि पहिलो भेट मलाई दिनुपर्छ । मेरो सार्वजनिक माग हो । किनभने मेरो पहुँच छैन, उनीहरुले आफ्ना मान्छेभन्दा अरुलाई भेट दिँदैनन् । आफ्नाबाहेक अरुलाई मान्छे पनि ठान्दैनन्, यो उनीहरुको कमजोरी हो ।
मेरो अनुरोध, पहिलो भेट मलाई दिनुपर्छ र म उहाँलाई के अनुरोध गर्छु भने, शेरबहादुर देउवाले काम चलाउ भएपछि गरेका सम्पूर्ण निर्णयहरु एकै पटक खारेज हुनुपर्छ ।

० त्यो त उहाँले गर्न खोजेकै हुन् नि ?
– हिजोको पाँच बुँदेमा त्यो परेन । किनभने उहाँलाई पनि सत्ता चलाउनुपर्छ । यदि त्यसो गर्नुभयो भने सत्ता चुनौतिपूर्ण हुन्छ ।

० समृद्धिको सपना बाँड्नु भएको छ ?
– त्यस्तो त उहाँले पहिले पनि गर्नुहुन्थ्यो । धरातलीय यथार्थ हाम्रो के हो ? एउटा रामवरणका लागि पूरै मुलुक विगत ३–४ वर्षदेखि कसरी क्राइङ भइरहेको छ, सबैले देखेकै छन् । काठमाडौंमा आफ्नो घर, उसलाई २ लाख रुपैयाँ मासिक भाडा चाहियो । ३ वटा गाडी चाहियो अरे । भोलि विद्या भण्डारीलाई के चाहिने होला । अहिलेको स्थानीय निकायले पनि त्यही गाडीकै मात्र कुरा गर्छ । यी कुरा केपी ओलीले हस्तक्षेप गर्नुपर्छ । म किन आशावादी छैन भने प्रचण्डले हिजै बखेडा झिक्यो, जान्न भन्दियो । यसले डरलाग्दो म्यासेज दियो । पुरानै प्रवृत्ति देखियो । तीनै मान्छेबाट अर्को प्रवृत्ति अपेक्षा गर्नु नै गल्ती छ । सुरेन्द्र केसी प्रधानमन्त्री, भीसी वा राजदूत भए पनि उसको चरित्र यही हो ।

० तपाईं प्रधानमन्त्री भए पढाउने कसले ?
– अहिले म रिटायर्ड भएँ, पढाउन अब तपाईंहरु आउनुपर्छ । मैले चाहिँ गाडी चढ्नु छैन, श्रीमतिलाई सांसद बनाउनु पर्दैन ? एमपी किन बन्नुहुन्छ किसुनजी भन्दा, मैले रक्सी खानुपर्दैन ? सुजता कोइरालासँग बसेर रक्सी खाने ठूलो रहर छ बाबु मेरो उहाँ भन्नुहुन्थ्यो ।

० अहिलेको सरकारको मूल चुनौति के हो ?
– एक शब्दमा भन्दा अहिलेको सरकारको चुनौति माओवादी हो । अझ सानो शब्दमा भन्दा प्रचण्ड । प्रचण्डलाई व्यवस्थापन नगर्दासम्म यो सरकारले केही पनि गर्न सक्दैन र उनीहरुले व्यवस्थापन गर्नुपर्ने प्रश्न बजारमा ल्याउनु हुँदैन । केपी ओलीकै घरभित्र प्रचण्डलाई राखेर यो समस्या समाधान गर्नुपर्छ । केपी ओलीको पहिलो र अन्तिम चुनौति प्रचण्ड हुन् ।