१३ बैशाख २०८१, बिहीबार
Follow Us

ओली–दाहाल वान टु वान वार्ता निष्कर्षविहीन

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७४, शनिबार ०७:३०

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक भोली बस्ने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटवार्तामा एकता संयोजक समितिको बैठक भोलि बोलाउने सहमति भएको हो ।

करिब पैतालिस मिनेट भएकोे ‘वान टु वान’ वार्तामा पार्टी एकताका लागि अडकिएका बिषयमामा दुई नेताबीच छलफल भएपनि ठोस सहमति भने जुटन नसकेको बताइएको छ । एकता संयोजन समितिको बैठकपछि सरकारमा माओवादीको सहभागितासँगै नयाँ बन्ने पार्टीमा माओवादीले पाउने स्थानको विषय टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रले एकताको टुंगो नलागेसम्म प्रधानमन्त्रीलाई समर्थन गरे पनि सरकारमा सहभागी नहुने बताउँदै आएको छ । पार्टी एकताको आधार, पार्टीको मार्गदर्शक सिद्धान्तका साथै सरकार र पार्टीको नेतृत्वका विषयमा दुई दलबीच विवाद छ । सैद्धान्तिक विषयमा कुरा नमिलेपछि पार्टी एकताको खाका तयार हुन सकेको छैन ।

एमालेले जनताको बहुदलीय जनवादलाई एकीकृत दलको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने अडान राखेको छ भने माओवादीले माक्सवाद लेनिनवादलाई मात्रै मार्गदर्शक सिद्धान्त मान्नुपर्ने बताउँदै आएको छ ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र पार्टीको नेतृत्व ओली र दाहालले संयुक्त रुपमा गर्नेमा दुबै दल सहमत भएपनि कति–कति समय सरकार र पार्टीको नेतृत्व गर्ने भन्नेमा कुरा मिल्न बाँकी छ ।