१३ बैशाख २०८१, बिहीबार
Follow Us

बजार अनुगमन तीब्र

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७३, सोमबार ०६:१५

काठमाडौं । बजार अनुगमन तीब्र छ । बजारलाई वेथितिबाट मुक्त गराउने प्रयास स्वरुप चालिएको कदमप्रति प्रधानमन्त्रीदेखि लिएर सरोकारवाला निकायको मात्र नभई आम उपभोक्ता एवं जनता चनाखो नजरले हेरिरहेका छन् । यही क्रममा हिजो आइतबार एकैपटक ११ टोलीले यातायात सेवासहित उपभोक्ताको बढी आकर्षण हुने क्षेत्रमा अनुगमन गरेको छ ।
सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ । केही दिनदेखि आपूर्ति मन्त्रालयको अगुवाइमा भएको अनुगमनका क्रममा नयाँ बजारमा रहेको अर्गानिक किचेन मार्ट, नन स्टप ३६५ डे मार्टलाई सिलबन्दी गरी तीन दिनभित्र आवश्यक कागजपत्र लिई आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा आउन निर्देशन दिइएको छ ।

त्यस्तै सञ्चालन अवधि समाप्त भए पनि औषधि बिक्रीवितरण गरेको भन्दै लगनखेलमा रहेको लगनखेल पोलिक्लिनिक, जनरल प्राक्टिस क्लिनिक, हेल्थ लिङ्क रिलायबल ल्याब तथा क्लिनिक र चिकित्सकको अनुमतिबिना औषधि बेचेको भन्दै आयुष फार्मेसीलाई सिलबन्दी गरिएको छ । विभागका निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार सिलबन्दी गरिएका औषधि पसलका सञ्चालकलाई आवश्यक कारबाहीका लागि विभागमा बोलाइएको छ ।

त्यसैगरी ट्रिनिटी कलेज डिल्लीबजारको चमेना गृहमा सडेको अवस्थामा खाद्यवस्तु विक्रीमा राखिएको र भान्छा अत्यन्तै फोहोर रहेकाले सिलबन्दी गरिएको छ । त्यस्तै त्रिपुरेश्वमा रहेको बागमती मिठाई पसल पनि उपभोक्ताको हित विपरीत रहेकाले सिलबन्दी गरिएको छ ।

आजै भक्तपुरमा रहेको कान्तिपुर दूध डेरी र कालिका दूध डेरीको पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा कालिकाले दूध उत्पादनका लागि मात्र अनुमति लिएको तर आइसक्रिम र दही पनि उत्पादन गर्दै आएको तथा आइसक्रिम बनाउँदा म्याद नाघेको केमिकल प्रयोग गर्ने गरेकाले कारबाही गर्नुका साथै दुई बोरा केमिकलसमेत जफत गरिएको छ ।

बाह्र सवारी साधनलाई कारबाही
भाडा दर नटासी यात्रुसँग बढी भाडा असुल गरेको भन्दै कोटेश्वरमा १२ वटा सार्वजनिक यातायातका साधनलाई कारबाही गरिएको छ । तोकिएभन्दा बढी भाडा लिने सवारी साधनबाट यात्रुलाई भाडा फिर्ता गराइएको र रु पाँच हजार जरिवाना गरिएको छ । यसैगरी गौशालामा १० किराना पसलमा गरिएको अनुगमनमा मूल्यसूची नराखेको पाइएकाले तीन दिनभित्र मूल्यसूची राख्न निर्देशन दिइएको छ ।