७ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार न्यौपानेमाथि भएको आक्रमणको वेलायतबाट निन्दा

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार १६:५८

लण्डन । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ यूकेले भत्सना गरेको छ । महासंघका अध्यक्ष नरेश खापंगी मगरद्धारा सोमवारजारी विज्ञप्ति मार्फत उक्त भत्सना गरिएको हो ।

विज्ञप्तिको पूर्णपाठ
लण्डन । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि हिजो १८ फेव्रुअरी २०१८ आइतवारका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले सांघातिक आक्रमण गरी घाइते तुल्याएको घटनाको नेपाल पत्रकार महासंघ बेलायत शाखा घोर भर्त्सना गर्दछ ।
अध्यक्ष तामाङले फोन गरी विशेष कुराकानी गर्न महासंघ कुवेत शाखाका सदस्य सुजन केसीको फरवानियास्थित कोठामा बोलाई साँझ ६ बजे करिब कुटपिट गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए । म्यानपावर व्यवसायीसमेत रहेका तामाङले अन्य सहयोगीका साथ घरेलु हतियारले आक्रमण गर्न थालेपछि उनी त्यहाँबाट भागेर ज्यान बचाउन सफल भएका थिए ।
न्यौपाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् र आक्रमणकारीलाई कारबाही गर्न नेपाली दूतावास कुवेत, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति लगायतमा उजुरी दिएका छन् ।
कनै पनि समाचारका विषयमा असहमति भए कानुनी उपचार खोज्नुको सट्टा आक्रमणमा उत्रने जस्तो निकृष्ट कार्यमा संलग्न तामाङलाई एनआरएन कुवेतको अध्यक्ष पदबाट तत्काल निलम्बन गरी सत्यतथ्य पत्ता लगाउन गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिसमक्ष नेपाल पत्रकार महासंघ बेलायत शाखा माग गर्दछ ।
साथै, घटनाका दोषीहरूलाई कारवाहीको दायरामा ल्याउन नेपाली दुतावास कुवेत, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, कुवेत, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, काठमाडौं र परराष्ट्र मन्त्रालयसँग शाखा जोडदार माग गर्दछ ।
विदेशस्थित नेपालीहरु एक(अर्कामा हातेमालो गरी अघि बढ्नुको सट्टा आक्रमणमा ओर्लिदा पत्रकार र एनआरएनएबीच तिक्तता बढ्ने तथा नेपालीबाट नेपाली नै असुरक्षित हुने घटनालाई तत्काल रोक्न आवश्यक पहल गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिसमक्ष हामी विनम्र अनुरोध गर्दछौं ।