१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीलाई प्रवासी नेपाली मञ्चको बधाई

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार १९:१६

लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतले पार्टी अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ ।

मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव विजयविक्रम लिंगदेनले एक वक्तव्य जारी गर्दै समृद्ध नेपाल निर्माणको जिम्मेवारी सफलतापूर्वक पूरा गर्न शुभकामना पनि दिएको छ । त्यस्तै, मञ्चले सात वटै प्रदेशमा निर्वाचित भएका मुख्यमन्त्रीहरुलाई पनि बधाई तथा शुभकामना दिएको छ ।

आर्थिक विकासको द्रुतगतिमा दौडिरहेका दुई भीमकाय मुलुकको बिचमा रहेको सुन्दर देश नेपाललाई विकास र समृद्धिको बाटोमा लैजान तथा समाजवाद उन्मुख राज्य व्यवस्थाको निर्माणमा वामपन्थी गठवन्धन तथा प्रधानमन्त्री कमरेड ओली नेतृत्वले पार्टी, सरकार तथा नेपाली जनतालाई परिवर्तन तथा राहतको अनुभूति दिलाउन सफल हुने विश्वास मञ्चले व्यक्त गरेको छ ।

‘वि. सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी विभिन्न समयमा तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव र नेताहरूको कमजोरीको कारणले गर्दा २०१८ साल पछि त्यो विभाजित हुन पुग्यो’, मञ्चले भनेको छ, ‘भर्खरै सम्पन्न निर्वाचनमा नेपाली जनताको चाहना बमोजिम मुलुकका दुई प्रमुख कम्युनिष्ट पार्टीहरुले पार्टी एकीकरण समेत गर्नेगरी संयुक्त बाम गठवन्धन मार्फत सबै तहका निर्वाचनमा पाएको अपार सफलताबाट हामी अत्यन्तै उत्साहित भएका छौं।’

विभिन्न कारणले विदेसिनु परेका प्रबाशी नेपाली हरुले उठाउदै आएका नेपाली नागरिकताको निरन्तरता प्रति सकारात्मक भई सम्बृद्ध नेपाल बनाउन प्रवासी नेपालीहरुले प्राप्त गरेको शिक्षा, सीप , अनुभव र आर्थिक आर्जनलाई नेपाल भित्र्याउन समन्वयकारी भुमिका निर्वाह गर्न तथा संघीयता र विकाससम्बन्धी बेलायती अभ्यासबाट आगामी दिनमा नेपालले लिन सक्ने फाइदाका लागि नेपाल सरकार तथा सातै प्रदेशका मूख्यमन्त्रीहरुसंग समन्वयनकारी भुमिका निर्वाह गरी गर्न मञ्च तयार रहेको वक्तव्यमा उल्लेख छ ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मर्म अनुरुप मुलुकको आमुल परिवर्तनको नेतृत्व गर्न बाम गठवन्धनका नेताहरु तथा प्रधानमन्त्री केपी ओलीलाई सफलताको शुभकामना पनि व्यक्त गरिएको छ ।