१३ बैशाख २०८१, बिहीबार
Follow Us

अंग्रेजी साहित्यकार चार्ल्स डिकीन्सको कर्मथलोमा नेपाली साहित्यकार

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार १९:२३

फडिन्द्र भट्टराई।

भिक्टोरियन युगका प्रसिद्ध अंग्रेजी उपन्यासकार चार्ल्स डिकीन्सको सृजनास्थल मानिने बेलायतको क्यान्टरबेरीमा पुगेर बेलायतका नेपाली साहित्यकारले काब्य वाचन तथा नेपाली-अंग्रेजी साहित्यका आयामहरुको चर्चा गरेका छन्।

साहित्य चौतारी यूकेको आयोजनामा साहित्यकार डिकीन्सको जन्म महिना पारेर उनको जन्मोत्सव स्वरूप उक्त कार्यक्रमको आयोजना भएको हो । कार्यक्रम स्थानीय केन्ट ईन्टरप्राइज हाउसमा आयोजना गरिएको थियो।

कार्यक्रममा डेढ दर्जन नेपाली साहित्य सर्जकहरुले नेपाली कविता मुक्तक तथा गजल वाचन गर्नुका साथै अंग्रेजी साहित्यमा डिकीन्सको योगदान बारे चर्चा गरेका थिए । भिक्टोरियन युगमा सृजित डिकीन्सका सृजनासँग वर्तमान नेपाली साहित्यसँगको अन्तरसम्बन्धका बारेमा अंग्रेजी साहित्यका जानकार जित रानाभाटले उनका कृतीमाथि प्रकाश पारेका थिए।

सन् १८१२ मा बेलायतको पोर्ट्समाउथमा जन्मिएका चार्ल्स डिकीन्स ‘अ टेईल अफ टु सिटीज’ , ‘ओलिभर ट्वीस्ट’ जस्ता ख्याती प्राप्त कृतीहरू मार्फत प्रसिद्द उपन्यासकारको रुपमा चिनिन्छन्।

साहित्यकर्मी चन्द्र कार्कीले संयोजन गरेको उक्त कार्यक्रममा साहित्य चौतारी यूकेका संयोजक बासु शर्माले बेलायतको साहित्यीक ईतिहासको स्मरण गराउने उद्देश्यले साहित्य चौतारी यूकेले हरेक वर्ष बेलायतमा साहित्यीक तीर्थाटन गर्दै आएको बताए । साथै उनले साहित्य चौतारीको मासिक साहित्य शृंखलामा समेत अंग्रेजी साहित्यका बिबिध विधामाथि छलफल र समालोचनाको अभ्यास समेत गर्ने गरिएको स्मरण गराए।

कार्यक्रममा साहित्य चौतारी यूकेले स्थापना गर्न लागेको नेटवर्क लाइब्रेरीको संयोजन गर्ने जिम्मा साहित्यकार बिनोद न्यौपानेलाई दिईएको बताईएको थियो । यसैगरी साहित्य चौतारी अन्तर्गत अनलाईन साहित्य प्रसारण विभागको संयोजन साहित्यकार दिनेश पौड्याल गर्ने भएका छन्।

बेलायतमा साहित्य चौतारी यूकेले आयोजना गरेको यो १८ औं साहित्य शृंखला हो।