७ बैशाख २०८१, शुक्रबार
Follow Us

यस्तो छ एमाले माओवादीबीच भएको ७ बुँदे सहमतिको नालिबेली

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार ०३:३६

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा सोमबार राति समझदारी जुटेको हो ।

यो बीचमा पार्टीको वैचारिक कार्यदिशा, नेतृत्व, संगठनात्मक एकीकरणको प्रक्रिया लगायतका विषयमा दर्जनौपटक दुबै दलबीच बिभिन्न तह र चरणमा छलफल सम्पन्न भएको थियो । दुबै दलले एकता प्रक्रियामा सहमति निर्माण गर्न दुबै अध्यक्ष रहने पार्टी एकता संयोजन समिति गठन गरेका थिए । सोमबार राति बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकल सात बुँदे समझदारी गरेको छ ।

दुबै पार्टीबीचको एकताकालागि संगठनात्मक विषयहरुको टुंगो लगाउन एउटा संगठनात्मक कार्यदल र विधान तथा प्रतिवेदनबारे टुंगो लगाउन अर्को कार्यदल गठन गरिएको छ । संगठनात्मक कार्यदलमा नेकपा एमालेको तर्फबाट इश्वर पोख्रेल, बेदुराम भुषाल, रघुवीर महासेठ तथा सुरेन्द्र पाण्डे र माओवादी केन्द्रको तर्फबाट रामबहादुर थापा, गिरिराजमणि पोख्रेल, मातृका यादव, वर्षमान पुन र जनार्दन शर्मा छन्।

त्यस्तै विधान प्रतिवेदन कार्यदलमा नेकपा एमालेको तर्फबाट माधवकुमार नेपाल, भीम रावल, प्रदीप ज्ञवाली तथा रघुजी पन्त र माओवादी केन्द्रको तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन्।

एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा गर्ने समझदारी पनि यी दुई पार्टीले बनाएका छन्। लिखित समझदारीमा यो विषय उल्लेख नभए पनि नेताहरूबीच समझदारी भएको नेताहरुले बताए। ‘पार्टीको बैठकमा आलोपालो अध्यक्षता गर्र्ने र सरकारमा साढे दुई साढे दुई वर्ष आलोपालो नेतृत्व लिने सहमति भएको हो ।

पार्टी एकताका लागि सहमति भएका बुँदाहरु
ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु

१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२) पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।

३) नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी) केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

४. ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्टियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।