१५ चैत्र २०८०, बिहीबार
Follow Us

संस्कृति जोगाउन अमेरिकामा नेपाली संघसंस्थाहरु सामुदायिक भवन बनाउँदै

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार ०६:०७

वाशिङ्गटन डिसी । अमेरिकामा रहेका नेपाली संघसंस्था पछिल्ला वर्षमा लाखौं अमेरिकी डलरको सम्पत्ति जोड्न सफल भएका छन् । अहिले नेपाली अमेरिकीहरुले आफ्नो उपस्थिति बाक्लो भएको टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्ड, न्यूयोर्क जस्ता राज्यहरुमा सामुदायिक भवन बनाउने क्रमलाई तीव्रता दिँदै आएका छन् ।
सम्पत्ति जोड्न सकिएबाट यी संस्थाले नेपाली कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान दिनसक्ने विश्वास गरिएको छ ।
सन् २०११ मा न्यूयोर्कको एल्मस्र्टमा युनाइटेड शेर्पा एशोसियशनले किनेको जग्गा तथा भवनको मूल्य २५ लाख अमेरिकी डलर रहेको अध्यक्ष उर्गेन शेर्पाले राससलाई जानकारी दिनुभयो । शेर्पा भन्नुहुन्छ – “यो भवन खरिद गर्न सकेका कारण केही दिन अगाडि मात्र स्थानीय सडक समेत बन्द गर्ने अनुमति लिएर हामी ल्होसारमा शेबु्र नाच नाच्न सफल भयौं । यो हाम्रो संस्कृति जगेर्नाको महत्वपूर्ण पक्ष हो ।”
“नेपाली मूलका शेर्पा समुदायबाट यो भवनको खरिद तथा सञ्चालन भएबाट अमेरिकाको न्यूयोर्क जस्तो विशाल शहरमा नेपालीहरुलाई एकताबद्ध गर्न सकिएको छ” – शेर्पा अगाडि थप्नुहुन्छ ।
यसैगरी नेपालीहरुको बाहुल्यता रहेको क्यालिफोर्नियामा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरलाई गत शिवरात्रिको दिन प्राणप्रतिष्ठासहित सञ्चालनमा ल्याइएको छ । करिव १६ लाख अमेरिकी डलरमा खरिद गरिएको उक्त भवन तथा सामुदायिक भवनको मर्मत तथा सम्भारपछि सञ्चालनमा ल्याउने काम भएको हो । समितिका सभापति भक्त थापा समुदायमा रहनुभएका नेपालीहरुको आठ वर्षको अथक प्रयासपछि यो मन्दिरको निर्माण सम्पन्न भएको बताउनुहुन्छ ।
समितिको कार्यसमितिमा रहनुभएका एकराज पाण्डे एक्लैले एकलाख २६ हजार २६६ डलर प्रदान गर्नुभएको थियो । पाण्डे यसरी दान गर्ने नेपालीहरुको सूचीमा शीर्ष स्थानमा रहनुभएको छ ।
पाण्डेले भन्नुभयो – “मातृभूमि छाडेर प्रवासमा जीवन बिताइआए पनि हाम्रो कला, संस्कृति र धर्मको निरन्तर संरक्षण र सम्वद्र्धन गर्न यस्ता भवनहरुले हामीलाई आत्मीयताको भाव दिएका हुन्छन् ।”
टेक्सासमा सन् २००७ मा स्थापना भएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र रहको भवनलाई सन् २०१३ मा ८ लाख अमेरिकी डलरमा खरिद गरिएको महासचिव सुरेश चन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
“सांस्कृतिक र आध्यात्मिक कर्मलाई आत्मसात् गर्दै हामीहरुको भावी पिँढीलाई सही मार्गनिर्देश गर्न यस्ता सांस्कृतिक केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने छ,” पोख्रेलले भन्नुभयो –“यसले सामाजिक रुपमा एकता ल्याउने गरेको छ । हामीहरुबीच विश्वास र पारिवारिक मूल्य मान्यता जगाउँदै अमेरिकाको प्रतिस्पर्धी वातावरणमा भावी पिँढीलाई मजबुत बनाउन यसले बल पु¥याउने मेरो विश्वास छ ।”
यता, मेरिल्याण्डमा बन्दै गरेको नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोरले आफ्नो वैधानिक प्रक्रिया पूरा गरेको छ । उक्त भवन खरिद कार्यमा संयोजन गर्दै आउनुभएका कृष घिमिरेका अनुसार करिव १५ लाख अमेरिकी डलरमा खरिद गरिएकोे उक्त सामुदायिक भवन तथा मन्दिर आगामी ६ महिनाभित्र सञ्चालनमा आउने छ ।
बाल्टिमोर एशोसियशन अफ नेप्लीज (वाना) ले हालै मात्र खरिद गरी सञ्चालनमा ल्याएको भवनको मूल्य ३ लाख अमेरिकी डलर रहेको समितिका उपसभापति सुबोध पन्तले जानकारी दिनुभयो ।
अधिकांश नेपाली मन्दिर र भवनको निर्माण भाषा कक्षाको सञ्चालन र विभिन्न रीतिरिवाज तथा चाडपर्वको बेला एकठाउँमा भेला हुने उद्देश्यले गरिएका हुन् ।
अमेरिकामा झण्डै चालीस वर्षदेखि बस्दै आउनुभएका पुराना अभियन्तामध्येका एक डा श्याम कार्की नेपालीहरुबाट भवन खरिद तथा निर्माण हुँदा नेपालका बारेमा सोधखोज गर्ने व्यक्तिहरुलाई सहयोग पुग्ने र नेपालीहरुबीच अपनत्वको भावना विकास हुने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “अमेरिकामा जति पनि नेपालीहरुको प्रयासमा साझा सामुदायिक भवन निर्माण भएका छन् यसले भावी पिँढीका लागि धर्म, संस्कृति र भाषाको जगेर्ना गराउन मद्दत पुग्ने छ ।”
नेपाली संघसंस्थाले जग्गा खरिद र सामुदायिक भवन तथा मन्दिर निर्माणका लागि करिव १ करोड डलर खर्च गरिसकेका छन् । मन्दिर बनाउने उद्देश्यसहित गत वर्ष बोस्टन, न्यूयोर्कको रिजऊड लगायतका ठाउँमा महायज्ञ लगाइएको थियो । यस्ता सामुदायिक भवन तथा केन्द्रहरुमा चाडवाडका दिन भेला हुने तथा विवाह, व्रतवन्ध जस्ता कर्मकाण्डका कार्य गरिँदै आइएको छ । यसैगरी, नेपाल सम्वत्, दशैं, तिहार, फागु, म्हः पूजा जस्ता कार्यक्रमहरु पनि आयोजना गर्ने गरिएको छ ।
पछिल्ला वर्षहरुमा यहाँ नेपालीहरुको व्यवसाय विस्तार भएसँगै सामुदायिक भवन निर्माणले पनि तीव्रता पाएको बताइन्छ ।
–मधुकर अधिकारी