१२ बैशाख २०८१, बुधबार
Follow Us

‘सर्वसाधारणको पैसा खर्चेर सल्लाहकारलाई भोज’

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार ०९:१७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले सर्वसाधारणबाट संकलन गरेको पैसाले सल्लाहकारलाई भोज खुवाएको छ । गत आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न सल्लाहकार परिषदको बैठक खर्च सर्वसाधारणबाट लिइएको सदस्यता शुल्कबाट भुक्तानी हुने भएको छ । करिब ४ हजार पाउण्ड खर्चिएको सो बैठकमा करिब २ सय जना सल्लाहकारको खाना र कार्यक्रम हलको व्यवस्था एनआरएन यूकेले मिलाएको थियो ।

एनआरएन यूके स्रोतका अनुसार सो रकम संघको गत महाधिवेशनमा संकलित सदस्य शुल्कबाट भुक्तानी गरिने छ । गैरआवासीय नेपाली संघ यूकेका महासचिव राजकुमार त्रिपाठीले भोजको लागि कुनै पनि प्रायोजक नखोजिएको र खर्च संस्थाले व्यहोर्ने निर्णय भएको बताए । ‘यस विषयमा मलाई धेरै जानकारी छैन, अन्तिम समयमा आएर कार्यक्रमको स्वरुपसमेत परिवर्तन गरिएछ, कार्यक्रम कसरी म्यानेज भएको हो, अध्यक्षलाई थाहा होला’ त्रिपाठीले भने ।

एनआरएन यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न सो बैठकको सञ्चालन प्रवक्ता रमेश सरांकोटीले गरेपछि महासचिव त्रिपाठी र सहमहासचिव विनय अधिकारी असन्तुष्ट भए । महासचिव त्रिपाठीले भने, ‘यहाँ विधिविधानको खिल्ली उठाउने काम भएको छ, त्यसबारे अध्यक्षसँग कुराकानी गरिसकेको छु, आवश्यक परे यो विषय कार्यसमितिभित्रै छलफल हुनेछ ।’

कार्यक्रम सफल पार्न एक साता अघिदेखि सक्रिय महासचिव त्रिपाठीले अध्यक्ष योगकुमार फगामीको निर्देशनमा कार्यक्रम सञ्चालन गर्नबाट बन्चित भएको बताइन्छ । कार्यसमितिको अन्य सदस्यलाई समेत कार्यक्रमको ढाँचाबारे जानकारी थिएन् । स्रोतका अनुसार उपाध्यक्ष शेरबहादुर सुनारलाई समेतकार्यक्रमको ढाँचा कार्यक्रमस्थालमै उपलब्ध हुने भनिएको थियो  ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले आइसीसी बैठकमा आफूलाई बहुमतले पेलेर निर्णय गर्ने धम्की आएको भन्दै आफ्नै कार्यसमितिको आलोचना गरे । उनले गैरआवासीय नेपाली संघले सञ्चालन गरेको परियोजाना सम्पन्न गर्न ढिलाई भएको स्वीकार गर्दै आगामी दिनमा तदरुकताका साथ काम गरेर छिटो सम्पन्न गर्ने बताए ।

एनआरएन यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङले बेलायतस्थित नेपाली समुदायका लागि आवश्यक नेपाली घरको परिकल्पनाको बारेमा चर्चा गरे । गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले संघले सुरु गरेका लाप्राक, एनआरएन भवन, शंखमुललगायतको परियोजना तीब्र गतिमा अगाडि बढेको जानकारी दिए ।


कार्यक्रमा एनआरएन यूकेका पूर्वअध्यक्षद्वय योगेन क्षेत्री र मुछेत्र गुरुङलगायतले बोलेका थिए । कार्यक्रममा आइसीसी सदस्य कुमारी गुरुङलगायतको उपस्थिति थियो । अध्यक्ष फगामीले सेप्टेम्बरमा निर्वाचित भएयता आफू नेतृत्वको कार्यसमितिले गरेका कामहरु फेरहिस्ता प्रस्तुत गरे ।
उपाध्यक्ष पुनम गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् भने महासचिव आरके त्रिपाठीले कार्यक्रमबारे बताएका थिए । एनआरएन यूकेमा सल्लाहकारको भूमिका शुन्य भएको भन्दै कतिपयले आलोचना गर्दै कार्यक्रमको औचित्यमाथि प्रश्न उठाए ।

सल्लाहकारबाट प्राप्त सुझाव लिपिबद्ध गर्दा संघको नागरिकतासम्बन्धी माग, नेपालमा लगानीलगायत प्रमुख मुद्दालाई बाहिर राखेर दस्तावेज सार्वजानिक गरिएको थियो ।
प्रमाणपत्रमा लापरवाही
सल्लाहकारहरुलाई दिइएको प्रमाणपत्रमा मर्यादा विपरीत पदाधिकारी भन्दा कनिष्ट सदस्यको हस्ताक्षर रहेको भेटिएको छ । महासचिव त्रिपाठीका अनुसार निर्वाचित ५ जना उपाध्यक्षको मर्यादालाई समेत ख्याल नगरि एकाएक प्रवक्ता रमेश सरांकोटीले प्रमाणपत्रमा हस्ताक्षर गरे पछि विवाद भएको हो । प्रमाणपत्रमा कार्यक्रममा प्रमुखअतिथी संघका उपाध्यक्ष कुल आचार्यको सट्टा कार्यक्रममा अनुपस्थित रहेका गैरआवासीय नेपाली संघको अध्यक्ष भवन भट्टको हस्ताक्षर राखिएको थियो ।