२६ बैशाख २०८१, बुधबार
Follow Us

फरार अभियुक्त कतारमा पक्राउ

sarusaru
९ फाल्गुन २०७४, बुधबार ०२:३५

काठमाडौँ । नेपालमा शृंखलाबद्ध हत्या गरी फरार अभियुक्त कतारमा पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरिएका ‘सिरियल किलर’ सकिल हुसेनलाई कतार प्रहरीले पक्राउ गरेको हो।

हुसेनले २०६४ देखि ०७० बीच मात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। हत्याका अरू थुप्रै घटनामा समेत उनको संलग्नता रहेको प्रहरीको दाबी छ। टिकुलिया-७ सप्तरी घर भएका सकिल ४ वर्षअघि कतार पुगेका थिए।

नेपाल प्रहरीले ०७२ असार ४ मा पत्राचार गरेपछि इन्टरपोलले असार ६ मा सकिलको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो। सकिलले ०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी साह र ०६९ असोजमा सप्तरीकै सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको पनि हत्या गरेका थिए। ०७० चैत २ मा सप्तरीकै त्रिकोलकी निर्मलादेवी साहको हत्यामा पनि सकिलको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

हुसेनले ठगी र व्यक्ति हत्याजस्ता संगठित अपराध गर्दै आएका थिए। जेलमा रहेका आफन्त वा परिवारजनका सदस्य छुटाउने भन्दै मोटो रकम असुल्ने र परिवारकै सदस्यको हत्या गरी बेपत्ता हुने हुसेनको अपराध शैली थियो। निकट सहयोगी धमाधम पक्राउ परेपछि उनी कतार हिँडेका थिए।

०६४ वैशाख २६ मा हुसेन सप्तरी मल्हनियाका आरुल मियाँको हत्या अभियोगमा ०६८ मंसिरमा पक्राउ परेका थिए। राजविराज कारागारमा राखिएका उनी २६ माघ ०६८ मा पुनरावेदन अदालत राजविराजको आदेशले थुनामुक्त भएका थिए। त्यसपछि उनी उस्तै प्रकृतिका रकम असुली र व्यक्तिहत्याको बाटोमा हिँडिरहे। बारम्बार जेल पर्दै राजनीतिक पहुँचको भरमा छुटदै फेरि अपराधकर्ममा संलग्न हुँदै हिँडेको हुसेनको इतिहास छ।
– कान्तिपुर दैनिकबाट ।