१३ बैशाख २०८१, बिहीबार
Follow Us

अस्पतालमा बच्चा साटिएपछि अस्पतालको अवस्था तनावग्रस्त

sarusaru
९ फाल्गुन २०७४, बुधबार ०२:४०

काठमाडौं । बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त बनेको छ ।

वीरगन्ज महानगरपालिका–२६ की सुनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी थिइन् । ‘बाटोमै बच्चा जन्मिए पनि सरसफाइ र सालनाल काट्नका लागि सुत्केरी र शिशुलाई अस्पताल ल्यायौं,’ सुनिताका बाबु इंगरासन राउत कुर्मीले भने, ‘सरसफाइपछि नर्सले बच्चा साटेर ल्याइन् ।’
कुर्मीका अनुसार जन्मिँदा छोरा थियो, तर अस्पतालले छोरी जिम्मा लगायो । ‘नाति जन्मेको खबर सबै आफन्तलाई फोनमार्फत सुनाइसकेको थिएँ,’ उनले भने, ‘ईरिक्सा चालकलाई समेत ६ सय रुपैयाँ मिठाई खान दिएको थिएँ,’ कुर्मीले भने । बच्चा साटिएको भन्दै आफन्तले गरेको विरोध प्रदर्शनले मंगलबार दिनभर अस्पताल तनावग्रस्त बनेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले बच्चा नसाटिएको दाबी गर्दै भने, ‘पीडितले उजुरी दिए बच्चा र आमाको डीएनए परीक्षण गर्न तयार छौँ, सीसीटीभी फुटेजबाट अनुसन्धान पनि भइरहेको छ ।’

सोही अस्पतालमा चिकित्सकको लापरबाहीले गर्भमै शिशुको मृत्यु भएको आरोपमा पीडित पक्षले मंगलबारै ओपीडीमा तालाबन्दी गर्दै टायर बालेर प्रदर्शन गरेको थियो ।
-कान्तिपुर दैनिकबाट ।