१२ बैशाख २०८१, बुधबार
Follow Us

सबैले गृहमन्त्री ताकेपछि प्रचण्ड अप्ठ्यारोमा

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७४, बुधबार ०८:३१

काठमाडौं । माओवादी केन्द्रबाट सांसद बनेका दोस्रो तहका नेताले गृहमन्त्रालय ताकेपछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अप्ठ्यारोमा परेको बताइन्छ । रामबहादुर थापा (बादल), जनार्दन शर्मा र वर्षमान पुनले गृहमन्त्रालय ताकेपछि प्रचण्डलाई सन्तुलन मिलाउन अप्ठ्यारो परेको हो ।
रामबहादुर थापा (बादल) लाई उपप्रधानमन्त्री बनाएर माओवादी टोलीको नेतृत्व गर्ने कुरामा कुनै विवाद नरहे पनि उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको भागमा पर्ने मन्त्रालय छुट्याइसकेपछि बादललाई उपसहित एउटा मन्त्रालय दिने भन्ने टुंगोमा पुग्ने बताइन्छ । उनले सरकारमा पार्टीको नेतृत्व गर्ने लगभग निश्चित जस्तै भएको माओवादीका एक नेताले बताए । बादल सिनियर नेता भएकाले उनकै नेतृत्वमा सरकारमा जान अरु नेता सहमत भएका छन् । उनी उपप्रधानमन्त्री हुनेछन् ।
बादलले गृहमन्त्री दाबी गरेका छन् । बादलसँगै पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व गृहमन्त्री जनार्दन शर्माको पनि दाबी छ । तीन नेताले गृहमन्त्रीको दाबी गरेपछि माओवादीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन कठिन भएको छ । बादललाई उपप्रधानमन्त्री दिएर गृहबाहेक अर्कै मन्त्रालय दिने र गृहमन्त्रीमा काम गर्न सक्ने नेतालाई लैजाने विकल्पका बारेमा पनि छलफल भइरहेको माओवादी नेता बताउँछन् । माओवादीले मन्त्रीको टुंगो लगाएपछि मन्त्रिपरिषद बिस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।