८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रपति भण्डारीलाई तरुण दलले संविधान उपहार दिने !

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७४, बुधबार ०८:३८

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवि भण्डारीलाई नेपालको संविधान उपहार दिने भएको छ । राष्ट्रिय सभा सदस्य सिफारिसमा राष्ट्रपतिको कदमलाई असंबैधानिक भएको भन्दै ब्यङ्गयात्मक रुपमा राष्ट्रपतिलाई संविधान उपहार दिन लागिएको तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

तीन जना सदस्य सिफारिसका सन्दर्भमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिसलाई अध्ययनको नाममा लत्याएर वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको सिफारिसलाई तत्काल कार्यान्वयनका लागि निर्णय गर्ने राष्ट्रपतिको कदम विरुद्ध आन्दोलित हुँदै संविधान उपहार दिन लागिएको हो ।

राष्ट्रिय सभा सदस्य सिफारिस सम्बन्धि नेपाल सरकारको निर्णय तथा सिफारिसलाई वेवास्ता गरी मिति २०७४ वैशाख ८ गते गरिएको निर्णयलाई नाटकीय भएको उल्लेख गर्दै तरुण दलले राष्ट्रपतिको कदमलाई असंबैधानिक करार दिएको छ । दलले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै त्यसप्रति दलको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समग्र राष्ट्र र संविधानको अभिभावकको भुमिकामा रहेका राष्ट्रपति स्वयले पदिय मर्यादाको गरिमालाई भुलेर दल बिशेष इच्छा एवम् स्वार्थ पुर्ति गर्ने कार्य भएको ठहर नेपाल तरुण दलको छ । नेपालको कानुन र संविधानको मर्मकाप्रति राष्ट्रपतिको कर्तब्यका सम्बन्धमा उनलाई झक्झकाउने आवश्यकता महसुस गरि दलले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए । फागुन ९ गते बुधवार दिनको ठिक ३ बजे राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपतिका कदम बिरुद्ध राष्ट्रपतिलाई नै ज्ञापन पत्र बुझाउँदै संविधान पनि उपहार दिने कार्यक्रम छ ।