१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरी इन्काउन्टर : पछिल्लो चार बर्षमा ६ मुठभेड, ५ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७४, बुधबार १२:२१

काठमाडौं । पछिल्लो ४ वर्षमा प्रहरीसँग गुन्डा नाइकेको ६ वटा इन्काउन्टर भयो । त्यसमा ५ जनाको मृत्यु भएको छ भने गत माघ १३ गते डिल्लीबजार सदरखोरबाट भागेका टिकाबहादुर मगर भने बाँच्न सफल भएका छन् । २०७१ साल साउन २१ गते दिनेश अधिकारी चरीलाई काठमाडौंको भीमढुंगामा प्रहरीले इन्काउन्टरमा निशाना बनाएपछि सुरु भएको यात्रा २०७२ साल भदौ ३ गते कुमार श्रेष्ठ घैटीलाई सामाखुशीमा ढाल्यो ।

त्यस्तै काठमाडौंको बबरमहलमा २०७३ साल साउन ९ गते जसवन्त राईलाई इन्काउन्टरमा मा-यो भने २३ गते प्रवीण खत्रीलाई ललितपुरको कुसन्तीमा प्रहरीले इन्काउन्टरको शिकार बनाएको थियो । माघ १३ गते जेलबाट भागेका टीकाबहादुर मगर भने चितवनको रामनगरमा भएको इन्काउन्टरमा बाँच्न सफल भए । फागुन ९ गते रुपन्देहीको विजयपुरमा भएको इन्काउन्टरमा मनोज पुन र उनका सहयोगी सोम आले मारिए ।

अभियुक्त वा अपराधी नियन्त्रणमा लिनेक्रममा प्रहरीले गर्ने ‘इन्काउन्टर’ बेला–बेलामा चर्चामा रहन्छ । दुई समूह वा व्यक्तिबीचको हातहतियारसहितको जम्काभेटलाई अपराधको दुनियाँमा ‘इन्काउन्टर’ अर्थात् ‘मुठभेड’ भनिन्छ । मनोज पुन प्रहरीको ‘इन्काउन्टर’मा पर्ने पछिल्लो पात्र हुन । यसअघि आपराधिक दुनियाँका ‘कुख्यात’ पात्र ‘इन्कारउन्टर’को शिकार भइसकेको छन् ।

प्रहरी ऐन २०१२ को संशोधित व्यवस्था र निर्देशिकामा ‘इन्काउन्टर’को प्रावधान छैन । नेपालको विद्यमान ऐन कानूनमा अभियक्तलाई कानूनी दायरामा ल्याएर अदालतको निर्णयअनुसार सजाय गर्ने व्यवस्था छ । प्रहरी ऐन २०१२ को दफा १३ ले प्रहरी कर्मचारीले कानूनले दिएको अख्तियारभन्दा बढी अधिकार प्रयोग गर्न नपाउने स्पष्ट व्याख्या गरेको छ । मुलुकी र फौजदारी ऐनजस्ता कुनै पनि कानूनमा ‘इन्काउन्टर’ प्रकृतिको प्रावधान छैन । तर, आफूमाथि आइलागेपछि प्रतिरक्षाका लागि भन्दै प्रहरीले ‘इन्काउन्टर’को अभ्यास भने गरिरहेको छ । बढ्दो प्रबृत्तिले ‘इन्काउन्टर’ कानूनी हो वा होइन भन्ने बहसलाई सतहमा ल्याएको छ ।

झण्डै सात वर्षअघि काठमाडौंका तत्कालिन प्रहरी प्रमुख पुष्कर कार्कीले साना हतियार नियन्त्रण गर्न ‘स्पेशल स्क्वायड’का नाममा अप्रेशन चलाएका थिए । त्यसमा पनि ‘इन्काउन्टर’को अधिकार थिएन । पक्राउ गर्नेक्रममा अभियुक्त भाग्न खोजे घुँडाभन्दा मुनी गोली हान्न सक्ने अधिकार भने प्रहरी दिइएको छ । त्यसैलाई आधार बनाएर प्रहरीले यस्ता अप्रेशन गर्दै आएको छ । पछिल्लो चार बर्षमा प्रहरीले गरेको ६ ‘इन्काउन्टर’मा पाँच व्यक्ति मारिएका छन् ।

चर्चित पछिल्ला ‘इन्काउन्टर’
– दिनेश अधिकारी ‘चरी’ :२०७१ साल साउन २१ गते काठमाडौंको भीमढुंगा (मृत्यु)
– कुमार श्रेष्ठ ‘घैंटे’ :२०७२ साल भदौ ३ गते काठमाडौंको सामाखुसी (मृत्यु)
– जसवन्त राई : २०७३ साल ९ गते काठमाडौंको बबरमहल (मृत्यु)
– प्रवीण खत्री :२०७४ साउन २३ गते ललितपुरको कुसुन्ती (मृत्यु)
– टीकाबहादुर मगर : २०७४ माघ १३ गते चितवनको रामनगर (बाँच्न सफल)
– मनोज पुन :२०७४ फागुन ९ गते रुपन्देहीको विजयपुर (मृत्यु)