७ बैशाख २०८१, शुक्रबार
Follow Us

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७४, बिहीबार ०५:४९

महेन्द्रनगर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिनुहुने भएको छ । प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नुहुनेछ । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका राउतले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ ।

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउत राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा फागुन २ गते मुख्यमन्त्रीको पदमा नियुक्त हुनुभएको हो । आज विश्वासको मत प्राप्त गर्नका लागि मुख्यमन्त्री राउतले नेपाली काँग्रेसलाई पनि आग्रह गर्नुभएको छ । उहाँले बुधबार राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलसँगै गई काँग्रेस संसदीय दलका नेता रामसरोज यादवसँग विश्वासको मत माग्दै अनुरोध पत्र दिनुभएको थियो ।

आज मुख्यमन्त्री राउतले मन्तव्य राखेपछि अन्य सांसदहरुले पनि धारणा राख्नेछन् । त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले जवाफ दिनुहुनेछ । बैठकमा मुख्यमन्त्रीले जवाफ दिएपछि सभामुखले मतदानका लागि आहृवान गर्नुहुनेछ । मतदानमा आफ्नो पक्षमा ५१ मत वा बढी आएमा लालबाबु राउत मुख्यमन्त्री कायम रहनेछन् । पहिलो चरणको मतदानमा पक्ष र विपक्षमा बराबर मत परे सभामुखले निर्णायक मत दिने प्रदेश संसद् सचिवालयका उपसचिव यादवले बताउनुभयो ।

यस प्रदेशको प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ सांसद रहेका छन् जसमा मुख्यमन्त्री रहेको दल संघीय समाजवादी फोरमका २९ र राष्ट्रिय जनता पार्टीका २५ सदस्य छन् । दुवै दलको कूल सिट संख्या ५४ रहेको छ । मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक ५४ मत यी दुई पार्टीसँगै छ । त्यस्तै, नेकपा (एमाले)को २१, काँग्रेसको १९, नेकपा (माओवादी केन्द्र)को ११, संघीय समाजवादी पार्टीका एक र एकजना स्वतन्त्र सांसद छन् ।