१२ बैशाख २०८१, बुधबार
Follow Us

भयावह तरीकाले समाचार प्रस्तुत गर्न नहुने

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७४, शुक्रबार १४:४६

काठमाडौं । विज्ञले प्राकृतिक प्रकोप र युद्धका समयमा नागरिकलाई भयावह हुने तरीकाले सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्न नहुने बताउनुभएको छ । मुगुल मिडियाद्वारा आज आयोजित ‘गोरखा भूकम्पबाट सिकाइ र मिडियाको तयारी’ विषयको गोष्ठीमा युद्ध र विपद्का समयमा नागरिकमा निराशा छाउने काम मिडियाले गर्न नहुनेमा जोड दिइयो । पत्रकार श्रीरामसिंह बस्नेतले ‘नेपालमा विपद् समाचार संकलन’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै भूकम्प, डुबान, बाढीपहिरोजस्ता विपद्का समाचार लेख्दा र प्रकाशन गर्दा नागरिक हतास हुने, भयावह बनाउने, आतंक सिर्जना गर्ने खालको प्रस्तुति गर्न नहुने बताउनुभयो ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का व्यवस्थापक खड्ग सेन ओलीले ‘गोरखा भूकम्पको व्यवस्थापन र मिडिया’ विषयको कार्यपत्र प्रस्तुत गर्दै भूकम्पमा असुरक्षा वा मृत्यु हुनाका मुख्य कारण ८० प्रतिशत भवनका संरचना असुरक्षित, आठ प्रतिशत खोज तथा उद्धारमा ढिलाइ, आठ प्रतिशत स्वास्थ्योपचारमा ढिलाइ र चार प्रतिशत अन्य कारण हुने बताउनुभयो ।

मुुगुल मिडियाका कार्यकारी निर्देशक कृष्ण पौडेलले भूकम्प एवं विपद्का समयमा कसरी छिटो सूचना प्रवाह गर्ने र त्यसका लागि केके संयन्त्र अपनाउनु उपयुक्त हुन्छ भन्ने सूचना प्रवाह गर्ने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो । सो अवसरमा गोरखा भूकम्पबारेको ‘फर्केर हेर’ नामक वृत्तचित्र तथा सञ्चारकर्मीद्वारा भूकम्पका आफूहरुले समाचार संकलन गर्दाका अनुभव प्रस्तुत गरिएको थियो ।