१२ बैशाख २०८१, बुधबार
Follow Us

होटलमा बालश्रम

sarusaru
१२ फाल्गुन २०७४, शनिबार ०३:३४

नारायणगढ । नारायणगढका होटलहरूमा बालश्रम भएको पाइएको छ । शुक्रबार माइती नेपाल चितवन, जिल्ला प्रहरी कार्यालय चितवन, शसस्त्र प्रहरी बल, विद्यार्थी तथा पत्रकारलगायतको संयुक्त अनुगमनका क्रममा नारायणगढका होटलहरूमा बालश्रम भएको भेटिएको हो । पुलचोक आसपासका होटलहरूमा अनुगमन गर्ने क्रममा केही होटलमा बालश्रम भएको पाइएको माइती नेपाल चितवनका संयोजक ईश्वर गिरीले बताए ।
उनका अनुसार बालबालिकालाई होटलमा काम लगाएका होटल सञ्चालकहरूलाई केहीदिनको समय दिएर सचेत गराइएको छ । अर्को पटक पनि अनुगमनमा जाँदा सोही कार्य दोहोरिएको भेटिएमा नेपालको कानुन बमोजिक कारबाही प्रकृयामा जाने उनले बताए । नारायणगढ नेपालको सबै जिल्ला जानको लागि मुख्य केन्द्र भएकोले बालश्रम, महिला बेचविखन जस्ता आपराधिक कृयाकलाम बढ्न सक्ने भन्दै माइती नेपालले निगरानी बढाउँदै आएको छ ।
देशभरका विभिन्न जिल्लाबाट मानिसहरू नियमितरूपमा ओहोरदोहोर गरिरहने भएकोले पनि चितवन जिल्लामा यस्ता कृयाकलाप रोक्नको लागि निगरानी बढाउनुपरेको माइती नेपाल चितवनकी मनोविमर्शकर्ता जयन्ती खनालले बताइन् । मानिसहरूमा जनचेतना भएर पनि विभिन्न कारणले गर्दा प्रलोभनमा पर्ने र नजानिँदो बाटो हिँड्ने गरेकोले यसलाई कम गराउने उद्देश्यले समयसमयमा यस्ता कार्यक्रम गरिरहनुपरेको उनको भनाइ छ । शुक्रबार अनुगमन गरेका सबै होटलहरूमा कोही व्यक्ति संकास्पद अवस्थामा बास बस्न आएमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । टोलीले करिब एक दर्जनभन्दा बढी होटलहरूमा अनुगमन गरेको थियो ।