१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपतिमा को ? भण्डारी कि खनाल ?

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७४, शनिबार ०७:१३

काठमाडौं । निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपति चुनावको मिति तोकेको छ । आयोगले मिति तोकेसँगै वर्तमान राष्ट्रपतिलाई नै दोहोर्‍याउने कि नयाँ अनुहार ल्याउनेबारे एमालेमा छलफल सुरु भएको छ । राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधव नेपाल, पूर्वसभामुख सुवास नेम्वाङको नाम चर्चामा छ । तर पछिल्लोपटक नेपाल र नेम्वाङ राष्ट्रपति हुने लाइनबाट पछि हटिसक्नुभएको छ ।

वरिष्ठ नेतासमेत रहेका खनालले पार्टीले प्रस्ताव गरे आफू राष्ट्रपतिका लागि तयार रहेको पटक–पटक बताउनु भएको छ । उहाँले घुमाउरो पारामा वर्तमान राष्ट्रपति भण्डारीलाई दोहोर्‍याउन नहुने तर्क गर्नु भएको छ । तर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समक्ष कार्यकाल दोहो-याउने आकांक्षा देखाइसक्नु भएको छ ।

वर्तमान कार्यकाल बीचमै सकिने भएपछि थप ५ वर्षको कार्यकाल लम्ब्याउन राष्ट्रपति भण्डारी लागि पर्नुभएको एमाले स्रोतले जनाएको छ । प्रचण्ड, माधव नेपाल पनि भण्डारीको कार्यकाल बढाउन सकारात्मक देखिएका छन् । राष्ट्रपति बन्ने चाहना देखाउनुभएका झलनाथ खनाल पनि पछि हट्नुभएको छैन ।

राष्ट्रपतिको चुनावमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले मतदान गर्न पाउँछन् । यसो गर्दा राष्ट्रियसभाका ५९, प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० गरी कुल ८८४ जनाले राष्ट्रपति छान्नेछन् । यीमध्ये केन्द्र र प्रदेशका सांसदहरुको मतभार फरक–फरक हुनेछ ।