७ बैशाख २०८१, शुक्रबार
Follow Us

आत्मनिर्भरले निडर बनाउँदो रहेछ

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७४, शनिबार १०:३४

अञ्जु तामाङ, मेकअप आर्टिस्ट

कलाकारलाई चिटिक्क बनाउने पेसा हो अञ्जु तामाङको । अर्थात् उनी मेकअप आर्टिस्ट हुन् । कलाकार बन्ने सपना बोकेर काभे्रबाट राजधानी छिरेकी अञ्जुको भेट गाईजात्रा महोत्सवमा मनोज केसीसँग भएपछि उनी यो पेसातर्फ मोडिइन् । चलचित्र उद्योगमा पात्रलाई रंग्याउँदा रग्याउँदै लामो समय बिताएकी अञ्जुले धेरै आरोह अवरोह पार गरिन् । कस्तो छ नेपाली चलचित्र उद्योग, प्राविधिकलाई गरिने व्यवहार ? अञ्जुले यसरी बताइन् :

० के हो मेकअप आर्टिस्ट भनेको छ ?
– चलचित्र वा नाटकमा अभिनय गर्नुअघि कथाले मागेअनुसारको कलाकारलाई सजावट गर्नु हो । यसमा केस शृंगार बेग्लै हुन्छ ।

० महिला वा पुरुष कुन पात्रलाई सजाउनु हुन्छ ?
– सबै कलाकारलाई सजाउनुपर्छ । कथाले मागेअनुसारको सबै पात्रको सजावटमा ध्यान पु¥याउनु मेकअप आर्टिस्टको जिम्मेवारी हो ।

० महिला पात्रलाई सजाउन बढी समय लाग्छ ?
– स्वाभाविक रूपमा हो, महिला पात्रको सजावटमा धेरै कुरा ध्यानमा राख्नुपर्छ । आँखीभौंदेखि कागजसम्म र लिपस्टिकदेखि कपाल विन्याससम्म ध्यान पु-याउनुपर्छ ।

० यो विषय कहाँ अध्ययन गर्नुभयो ?
– एकेडेमिक होइन, फिल्डमा काम गरेर सिकेकी हुँ । यो एउटा प्राविधिक विषय हो, अभ्यास गरेपछि जानिन्छ ।

० यसप्रति रुचि कसरी जाग्यो ?
– सुरुका दिनमा म पनि नाटकको कलाकार नै थिएँ । कलाकारमा अवसर नपाएपछि श्रीमान्मार्फत म यो क्षेत्रमा आइपुगें ।

० पारिश्रमिक राम्रै आउँछ ?
– सर्तबमोजिम दिने हो भने राम्रै हुन्छ । शृंगारका सामग्री महँगो हुन्छ, आफूले गरेको श्रमको मूल्य जेनतेन उठछ ।

० पारिश्रमिक नदिनेहरू धेरै छन् ?
– पहिला थिए, अहिले त्यति छैनन् । राम्रो ब्यानरमा काम पाइयो भने राम्रै पारिश्रमिक पाइन्छ, नत्र श्रम गरेको मूल्य त्यतिकै छाडेर हिँड्नुसमेत परेको छ ।

० पसिनाको कमाइ छाड्न माया लाग्दैन ?
– माया लागेर के गर्नू ? नदिने नियतका मानिससँग ।

० पारिश्रमिक नदिनेको नाम भन्न मिल्छ ?
– मिल्दैन, किन समाजमा छुच्चो बन्नू ?

० राम्रा प्रोजेक्टमा कतिसम्म आम्दानी हुन्छ ?
– सुनिल थापाले बलिउडको एउटा फिल्म मिलाई दिनुभएको थियो । ‘गड्स लिभ्स इन हिमालय’ मा काम गर्दाको आनन्द बेग्लै थियो । एउटा पारिवारिक वातावरणमा कसरी फिल्म तयार पारिँदो रहेछ भन्ने कुरा मैले त्यहाँ देखें ।

० त्यस्तो वातावरण नेपाली चलचित्र उद्योगमा छैन ?
– राम्रा ब्यानरमा तयार हुने नेपाली चलचित्रमा त्यस्तै वातावरण बन्दै गएको पाइन्छ ।

० यसबाहेक अन्य पेसामा पनि संलग्न हुनुहुन्छ ?
– छैन, हामी श्रीमान् श्रीमती नेपाली चलचित्र उद्योगसँग सम्बन्धित छौं । यो क्षेत्रमा म अझै पनि डेढ दशकसम्म काम गर्न सक्छु भन्ने मलाई लाग्छ ।

० श्रीमान् के गर्नुहुन्छ ?
– उहाँको नाम मनोज केसी हो । उहाँ चलचित्र उत्पादनदेखि लिएर हरेक क्षेत्रमा संलग्न हुनुहुन्छ ।

० केसीसँग अन्तजार्तीय विवाह गर्नुभएको ?
– हो, यही सिनेमा यात्राले हाम्रो जोडी बाँधिएको हो ।

० याद छ, कसरी भेट भयो ?
– किन नहुनू, गाईजात्रा महोत्सवमा सहभागी थियौं, त्यही सेरोफेरोमा हाम्रो भेट भएको हो । उहाँ र म मिल्थ्यौं, तर त्यसले अरुको मन जल्दो रहेछ । मन जल्नेहरूलाई देखाउनकै लागि पनि हामीले विवाह गर्ने निर्णय लियौं ।

० कसले पहिला प्रेम प्रस्ताव राख्यो ?
– पे्रम प्रस्ताव राख्ने कुरो भएन, हामी एकअर्कालाई मन पराउँथ्यौं । मन पराएको दुई–तीन महिनामै हामीले विवाह गरेका हौं । हामी मिलेको देखेपछि अरुले कुरा काट्न थाले । उनीहरूको मुखमा बन्द गर्न हामीले विवाह गरिहाल्यौं ।

० अन्तर्जातीय विवाह गर्दाको परिणाम सोच्नुभयो ?
– विवाहअघि त्यस्तो केही सोच आएन । उहाँ काठमाडौं निवासी हुनुहुन्थ्यो, म काभे्रबाट आएकी थिएँ, मान्छे सबै एकै हुन् भन्ने मात्र जानेकी थिएँ ।

० मान्छे सबै एकै रहेछन् ?
– यस अर्थमा म भाग्यमानी नै रहेछु भन्नुपर्छ । श्रीमान्को साथ र सहयोगले अहिलेसम्म सबै कुरा राम्रो भइरहेको छ ।

० विवाह धूमधामसँग भयो ?
– कहाँ हुनू, भागेर चरिकोट पुगियो । तीन–चार दिन उतै बसियो, त्यसपछि काठमाडौं फर्कियौं ।

० त्यसपछि ?
– त्यसपछि संघर्षका दिन सुरु भए । एउटा सानो कोठा लिएर बस्न थालियो, यही क्षेत्रमा संघर्ष गर्दै अहिलेको अवस्थामा पुगेका छौं ।

० श्रीमान्ले घरमा लैजानु भएन ?
– कहिलेकाहीँ लैजानु हुन्थ्यो, अहिले जान्छौं । घरमा आमा मात्र हुनुहुन्छ । यद्यपि हामी अहिले पनि भाडा तिरेरै बसेका छौं ।

० छोराछोरी ?
– छोरा अहिले उच्च शिक्षा हासिल गर्न विदेश जाने तर्खरमा छ, छोरी १२ कक्षामा पढ्दैछिन् ।

० उनीहरूलाई चलचित्र क्षेत्रमा ल्याउनु हुन्न ?
– हामीले ल्याउने होइन, उनीहरूको इच्छामा निर्भर रहन्छ । पढ्ने वातावरण बनाइदिएका छौं, जे बन्छन् उनीहरूको इच्छा ।

० चलचित्र क्षेत्रमा आउने संकेत गरेनन् ?
– छोराले चाहिँ केही चलचित्रमा खेल्यो पनि, तर उसलाई यो क्षेत्र त्यति मन परेजस्तो गरेको छैन । छोरी भर्खर १२ कक्षा पढ्दैछिन् ।

० दुवै एउटै पेसामा हुँदा सजिलो हुन्छ ?
– सजिलो भएको महसुस गरें, काम अह्राउन सजिलो, एकअर्कालाई सहयोग गर्न सकिने रहेछ ।

० झगडा पर्दैन ?
– किन नपर्नू, मज्जाले पर्छ, तर त्यसले नोक्सान होइन, फाइदा पुग्दो रहेछ । एकअर्कामा सच्चिने अवसर मात्र होइन, छलफलले नयाँ निष्कर्ष निकाल्न सकिँदो रहेछ ।

० चलचित्र क्षेत्रका पुरुषहरू रौसे हुन्छ भन्छन् नि ?
– होला, विवाहअघि मेरा श्रीमान् पनि रौसे नै थिए होला, तर अब व्यावहारिक भइसक्यो ।

० मेकअप आर्टिस्टबाटै अवकाश लिनुहुन्छ ?
– हामीले एउटा कम्पनी दर्ता गरेका छौं । संगिछ्या फिल्म इन्टरटेन्टमेन्टले देश विदेशमा रहेका हाम्रा दर्शक र स्रोतालाई मनोरञ्जन दिनेछ ।

० राजनीतिमा पनि चासो छ ?
– मलाई चाहिँ छैन, श्रीमान् चाहिँ राजनीतिमा चासो मात्र होइन, कार्यकर्ता भएर नै हिँड्नु हुन्छ ।

० जीवनले के सिकायो ?
– महिला आत्मनिर्भर बन्नुपर्ने रहेछ । आत्मनिर्भर महिलामा काम गरेर खान सक्छु भन्ने आत्मविश्वास बढ्दो रहेछ । आत्मविश्वास भएका महिलालाई घरपरिवार र समाजले सम्मान दिँदो रहेछ ।