६ चैत्र २०८०, मंगलवार
Follow Us

कांग्रेसलाई सुदृढ बनाउन पुराना नेताहरु छेउ लाग्नुपर्छ : गगन थापा

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७४, आईतवार ०५:४५

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पाँच वर्षपछि हुने निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने हो भने अहिले भएका पुराना नेता छेउ लाग्नुपर्ने बताएका छन् । आफूहरुले शुद्धिकरणको अभियान पनि अगामी दिनमा समृद्धि नेपालको अभियानमा कांगे्रसलाई नेतृत्वमा पु¥याएर रहेको नेता थापाले बताए । पार्टीले विधान संशोधन गरेको छ, संसदीय दलको नेता छानेको छैन, छायाँ सरकार गठन गर्ने निर्णय गरेको छ । पार्टी कार्य समितिको बैठक आज आइतबारदेखि सुरु भएको छ । यिनै विषयमा नेता थापासँग राज ढुंगानाले गरेको कुराकानी–

० कांग्रेसले बनाउन लागेको छाया सरकार के हो ?
– यो हाम्रो निम्ति नौलोजस्तो लागे पनि बेलायतमा वेस्टमिनिस्टर प्रणालीको अभ्यास गर्ने देशमा यो नौलो विषय होइन । एउटा पार्टीले सरकार चलाउँदै गर्दा प्रमुख प्रतिपक्षी दलका नेता छाया सरकारको प्रमुख वा प्रधानमन्त्री र जति पनि क्याविनेट मन्त्रीहरु रहन्छन्, तत मन्त्रालयको जिम्मेवारी दिने गरी छाया मन्त्री बनाउने प्रचलन हो । जसले गर्दा आफ्नो जिम्मेवारीमा परेको मन्त्रालयका विषयमा निगरानीको कुरा मात्र होइन, अध्ययन अनुसन्धान र नयाँ विषयलाई प्रस्तुत गर्न सक्छ । यी कुराले संसदको काम कारबाहीलाई प्रभावकारी बनाउँछ । सरकारको निगरानी राख्न र सहजकर्ताको रुपमा आफ्नो भूमिका राम्रोसँग सम्पादन गर्न सक्छ । यसले संसदको छलफलमा गुणस्तर वृद्धि गर्छ ।

० छाया सरकारको कन्सेप्ट नयाँ होइन ?
– यसको अभ्यास यही नाममा नभएता पनि आ–आफ्नो दलहरुले समिति बनाउने, पार्टीले विभाग बनाउने, त्यो विभागले त्यो क्षेत्र हेर्ने अभ्यास दलहरुले गरेको देखिन्छ । तर, त्यो पार्टीले गर्छ, पार्टीले गर्दा उसको रुचि सरकार र विधायिकाको काममाभन्दा पनि पार्टीभित्रका विभागसँग हुन्छ । जस्तो शिक्षा भन्यो भने शिक्षकसँग काम गर्छन् । अर्थात् संगठनसँग मात्र जोडिन्छ ।

० जतिवटा मन्त्रालय छ, त्यत्ति नै छाया मन्त्री रहन्छन् ?
– जतिवटा मन्त्रालय छ, त्यहाँ छाया मन्त्रीका रुपमा हाम्रा माननीयले काम गर्नुहुन्छ ।

० सरकारलाई निगरानी गर्न ?
– संसदभित्र कतिपय विषयमा प्रतिपक्षीको टकराव हुनु अस्वभाविक होइन । छाया सरकार बन्दा वा नबन्दा पनि सत्ता पक्ष र विपक्षबीच सम्झदारी र टकराव भइरहन्छन् । राज्यव्यवस्था भनेको केवल सरकार मात्र होइन, सँगसँगै प्रतिपक्षी भूमिका निर्वाह गरिरहेको दलको पनि आफ्नै जिम्मेवारी हुन्छ । प्रतिपक्षीले पनि आफ्नो भूमिका सही ढंगले निर्वाह गर्न सक्यो भने मात्रै संसदको परिणाम उचित हुन्छ ।
नेपाली कांगे्रस प्रतिपक्षीको भूमिका रहँदैगर्दा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन छाया सरकारको व्यवस्था गर्न लागेको हो । यसले संसदको गुणस्तर बढाउँछ ।

० यो विषयमा पार्टीभित्र छलफल भएको हो ?
– छलफल गर्नेभन्दा पनि गर्ने कर्तव्यको कुरा हो । यसलाई हामी पूरा गर्छौ ।

० संसद र सरकारमा प्रतिपक्षी ?
– अहिले नेपाली कांग्रेसले संसदमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्दैैगर्दा हाम्रो आफ्नो क्षमतालाई अधिकतम प्रयोग गरेर अझै बढी सिर्जनात्मक र प्रभावकारी बनाउनका लागि प्रयास गर्नेछौं ।

० नेतृत्व तहमा यो विषयमा छलफल भएको छ ?
– यो पार्टी संसदीय दलको विधानमा परिसकेको विषय हो । सबैले राम्रो विषय आयो भन्ने कुरा भएको छ ।

० पार्टीभित्रका युवाहरुको पहलले छाया सरकार विधानमा परेको हो ?
– समग्र पार्टीको पुर्नजागरण छुटै विषय हो, छाया सरकार अर्को विषय हो । अहिलेको नयाँ परिवेशमा पार्टीलाई कसरी सुदृढ बनाउने, नयाँ मिसन कसरी तय गर्ने भन्ने विषयमा हामीले काम गरिरहेका छौं ।

० प्रदेशमा पनि छाया सरकार हुन्छ ?
– केन्द्रीय समितिको बैठक आज आइतबारदेखि सुरु भएको बैठकमा यो कुरा आउँछ, त्यसपछि प्रदेशमा पनि साथीहरुले काम अगाडि बढाउनु हुन्छ । पार्टीले त्यही हिसाबले गराउँछ । प्रदेशमा जतिवटा मन्त्रालय रहन्छ, तत मन्त्रालयमा पार्टीका सांसदहरुले प्रादेशिक छाया सरकार बनाउनु हुनेछ ।

० कांग्रेसमा जागरण किन चाहियो ?
– पार्टी नेतृत्व कसले गर्ने भन्ने विषय गौण हो । मुख्य विषय भनेको पार्टीले आफूलाई फेरि एकपटक संगठित गर्नुछ, आत्मबल गिरेको अवस्था छ, त्यसलाई फर्काउनुछ । जनताको मोह भंग भएको छ, त्यसलाई पुनस्र्थापित गर्नुछ । संगठनको मुख्य कामै गर्न बाँकी छ । नेपाली कांग्रेसका नेताहरुको पहिलो पंक्तिले पार्टीमा पु¥याएको योगदानको सम्मान गर्दै उहाँहरुलाई विदा गर्नुपर्छ भन्ने हो । त्यसको ठाउँ कसले लिन्छ, त्यो सरोकारको विषय होइन ।

० पुराना नेता बिदाइ गर्ने कुरा गर्नुहुन्छ । संसदीय दलका नेता पुरानै नेता दोहोरिदै छन् ?
– हामीलाई जे कुरा ठीक लागेको छ, त्यो भनिरहेका छौं । त्यसका निम्ति हाम्रो प्रयास रहन्छ । हामीले जे प्रयास गरेका छौं, अहिले नै त्यस कुराको परिणाम आइहाल्छ भन्ने होइन, नआउन पनि सक्छ । परिणाम आउँदैन भनेर प्रयास नगर्ने कुरा पनि भएन । हामीलाई लागेको कुरा भनिरहेका छौं, त्यहीअनुरुप हामी गछौं ।

० पार्टीमा नयाँ पुस्ता ल्याउनुपर्छ भन्ने सोच रहेनछ ?
– पार्टीभित्र नयाँ पुस्तालाई स्थान दिनुपर्छ भन्ने सोच नभएको यथार्थ हो । यसमा दुईवटा कुरा देखिन्छ । नेपाली कांगे्रसको पराजयभन्दा पनि अबको चुनौति महत्वपूर्ण हो । पार्टीको जीत हार भइराख्छ, तर पाँच वर्षपछि हुने निर्वाचनमा बहुमत प्राप्त गरेको पहिलो पार्टी हुनका निम्ति अहिले भएको मतदातालाई जोगाएर कम्तीमा पनि १५ लाख नयाँ मतदाता थप्नुपर्छ । १५ लाख मतदाता थप्नका निम्ति पार्टीले आफूलाई सबै क्षेत्रमा नयाँ ढंगले प्रस्तुत गर्नुपर्छ । त्यसको सर्त भनेको एकजना नागरिकले सम्झने भनेको पार्टीको शीर्ष नेताहरुको तस्बिर उसको अगाडि आउँछ । त्यो तस्बिर जस्ताको त्यस्तै राखेर हामीले जति नयाँ कुरा गर्न खोजेता पनि त्यो नवीनताको उसले अनुभव गर्न पाउँदैन । कांग्रेस भनिने जुन अनुहार छ, उहाँले अगाडिको मोर्चाबाट छेउ लाग्ने कुरा अत्यावश्यक छ । यो कुरा नेताको पंक्तिले बुझ्न मानेको छैन ।
आफैले तयार गरेको सेनापतिले आफ्नो ठाउँ लिन सक्ने भयो भने त्यसलाई सफलता मान्नुपर्छ । त्यो सफलताको छुटै मज्जा हुन्छ भन्ने कुरा पनि शीर्ष नेताहरुले लिइराख्नुभएको छैन ।

० सभापति देउवाले पार्टीले हारेको छैन, व्यक्तिले हारेको भनिराख्नु भएको छ ?
– पार्टीको सन्दर्भमा व्यक्ति उम्मेदवार भइसकेपछि जीत हारको भूमिका केही रहन्न, मत हाल्दा जनताले सिम्बोल मात्र हेर्छ भन्ने होइन । व्यक्ति कस्तो रह्यो भन्ने अर्थ रहन्छ । मुख्य कुरा दलप्रति आम धारणा कस्तो रह्यो भन्ने हो ।

० कांग्रेसलाई अगाडि बढाउन तपाईंको मिसन के हो ?
– नेपालको समृद्धिको यात्राको नेपाली कांगे्रसले जिम्मेवार प्रतिपक्षी भएर नेतृत्व गर्छ । पाँच वर्ष पछाडि त्यही समृद्धिको मिसनलाई पूरा गर्न कांगे्रसले सरकारमा गएर काम गर्नुपर्छ । ५ वर्षपछिको सबै चुनावमा नेपाली कांगे्रसलाई बहुमतको पार्टी बनाउने मिसन हो । अहिले हामीले त्यसबाहेक केहीमा हाम्रो ध्यान जाँदैन ।

० ओली सरकार र कांग्रेसको सम्बन्ध कस्तो हुनेछ ?
– प्रारम्भिक संकेत राम्रो देखिएन, प्रधानमन्त्रीले सरकार सञ्चालन गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर, मित्रवत सम्बन्ध कायम राखेर सकेसम्म समस्या कम आउन दिएर आफ्नो ध्यान शासकीय कुरामा लगाउन सक्ने सुविधा उहाँलाई प्राप्त हुनसक्थ्यो । त्यसमा उहाँको रुचि खासै रहेनछ । ओली सरकारसँग सम्बन्ध तनावपूर्ण नहोस् भन्ने कामना हो, तर हुनेतर्फ गइरहेको संकेत प्राप्त भयो ।

० सम्बन्ध तनावपूर्ण हुने संकेतका आधारहरु के हुन ?
– पहिलो सवाल राष्ट्रियसभाको नियुक्तिको विषय हो । योभन्दा अघिल्लो सरकारले गरेको निर्णयलाई उल्टाएर नयाँ निर्णय गरेको छ । यो निर्णयले हार्दिक सम्बन्धलाई बिगारिदियो ।

० राष्ट्रपतिले गल्ती गर्नुभयो ?
– राष्ट्रपतिले संस्थाको गरिमा राख्नुपर्छ । राष्ट्रपतिले पार्टीको इन्ट्रेस्टमा आफ्ना धारणा बनाउने काम गर्नु हुन्न । यस्ता कुराले राष्ट्रपतिको संस्थालाई बलियो बनाउँदैन ।