१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सडक दुर्घटनामा ४ जनाको मृत्यु

sarusaru
१३ फाल्गुन २०७४, आईतवार ०८:२४

अछाम । आइतबार अछाम र सप्तरीमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

अछामको रामारोसन गाउँपालिका वडा नम्बर ३ मुजा बगरमा आइतबार ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोसन गाउँपािलकाका कलशी साउथ र नरु भण्डारी छन् । सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा अन्य दुई जना घाइते भएकोमा बयलपाटा अस्पतालमा उपचार भईरहेको छ ।

यता सप्तरीको उत्तरी पूर्वी भेगमा पर्ने फत्तेपुर–कञ्चनपुर सडक खण्डअन्तर्गत मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

फत्तेपुरबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८२४ नम्बर को हायस माइक्रोबसले कञ्चनरुप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को ३१ प ३३५० नम्बरको मोटरसाइकल ठोक्किएको हो । सो दुर्घटनामा मोटरसाइकल चालक उदायपुर, बोल्का नगरपालिका, तपेश्वरी बस्ने २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार सुनसरी, इनरुवा नगरपालिका २ बस्ने २६ वर्षीय दिलीपकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

राजेशको विराटनगरस्थित न्यूरो अस्पतालमा र दिलीपको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा परेका सवारी साधनलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।
-रासस