१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस संसदीय दलको नेता को ?

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७४, आईतवार ०९:५८

ललितपुर । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय कार्यसमिति निर्माण गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा संसदीय दलको नेता चयन गर्ने प्रकृया अगाडि बढाउने निर्णय गरेको हो । श्रेष्ठको संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे कार्य समिति सदस्य रहनुभएको छ । समितिले संसदीय दलको नेता चयनका लागि मिति तोक्ने बताइएको छ । फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया थालेको हो ।

काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने तयारी गरेको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह आकांक्षी देखिनुभएको छ । बैठकमा पार्टीभित्र विशेष महाधिवेशन र महाधिवेशनका विषयमा नेताहरुले कुरा राखे पनि कुनै सम्बोधन हुन नसकेको नेताहरुले आरोप लगाएका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अर्को केन्द्रीय समिति बैठकले निर्वाचनमा भएको पराजयमाथि समीक्षा गर्ने बताए ।

त्यस्तै काग्रेस नेता गगन थापाले काग्रेसको ध्यान सबै प्रदेश र केन्द्रको संसदमा केन्द्रित रहने बताए । सरकारको कामकारवाहीका अनुसार काग्रेसले आफ्नो क्रियाकलापलाई अघि बढाउने उहाले जानकारी दिए । यसपटकको केन्द्रीय समिति बैठकमा राष्ट्रपतिद्वार राष्ट्रिय सभामा मनोनित तीन जनाको विषयले चर्चा पाएको थियो । काग्रेस बैठकले त्यसको विरोध गरेको छ ।