८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायत आउने युरोपेली घटे

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७४, आईतवार २१:५१

नवीन पोखरेल ।
लन्डन — युरोपेली संघका सदस्य राष्ट्रबाट बेलयात आउने मानिसको संख्या घटेको छ । बेलायतको तथ्यांक संकलन गर्ने निकाय ‘अफिस फर नेसनल स्टाटिसटिक्स’ ले युरोपेली संघबाट बेलायत आउनेको संख्या वर्षको एक लाखभन्दा कममा झरेको जनाएको छ । यो गत ५ वर्षयताकै कम हो ।

तथ्यांक कार्यालयले सन् २०१६ सेप्टेम्बरदेखि २०१७ सेप्टेम्बरबीचमा केवल ९० हजार युरोपेलीमात्र बसोवास गर्ने उद्देश्यले बेलायत आएको उल्लेख गरेको छ । यस्तो संख्यालाई खुद आप्रवासन (नेट माइग्रेसन) पनि भनिन्छ । बेलायतले युरोपेली संघ (इयू) छाड्ने पक्षमा मतदान गरेपछि ईयूबाट बेलायत स्थायी बसोबासका लागि आउने मानिसको संख्या घटै गएको हो । बेलायत युरोपबाट अलग हुने (ब्रेक्जिट) प्रक्रिया अगाडि बढिरहँदा बेलायतमा रहेका पूर्वी युरोपेली नागरिकसमेत स्वदेश फर्कने चिन्ता व्यक्त भएको छ ।

व्यावसायिक समूहले घट्दो युरोपेली आप्रवासीका कारण दक्ष जनशक्ति अभाव बढ्ने चिन्ता व्यक्त गरेका छन् । युरोपेली नागरिकबाहेक अन्यत्र देशका कामदारलाई बेलायत आएर काम गर्न थप कडाइ गरिएकाले व्यवसायीमा चिन्ता छाएको हो । कन्फेडेरेसन अफ ब्रिटिस इन्डस्ट्रीले पनि बेलायतले आप्रवासीलाई आकर्षित गर्नुपर्नेमा त्यसो नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

ब्रेक्जिट प्रक्रियामा अनिश्चितताले गर्दा बेलायती अर्थतन्त्रसमेत अपेक्षा गरिएभन्दा कम वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०१७ को कुल ग्राहस्थ उत्पादन वृद्धि १.७ प्रतिशतमा सीमित भएको जनाएको छ । यसअघि कुल ग्राहस्थ उत्पादनमा सन् २०१६ को तुलनामा सन् २०१७ मा केही कमी आई १.८ प्रतिशतमा रहने प्रक्षेपण गरिएको थियो ।

बेलायतको वार्षिक वृद्धिदर सन् २०१२ पछिको सबभन्दा कम विन्दूमा पुगेको थियो । तर, बेलायती अध्यागमन मन्त्री क्यारोलिन नोक्सले भने वार्षिक हजारौं आप्रवासी घटाउने सरकारको कदममा नयाँ तथ्यांक स्वागतयोग्य भएको बताएकी छन् । बेलायतमा अहिले करिब ३० लाख युरोपेली नागरिक बसोबास गरिरहेको अनुमान छ । बेलायत ईयूबाट आगामी मार्च २०१९ बाट औपचारिक रुपमा बाहिरिने छ ।

प्रधानमन्त्री टेरेजा मेले गत बुधबार सन् २०१९ मा औपचारिक रूपमा ईयूबाट अलग्गिएपछि बेलायत बस्ने सबै युरोपेली नागरिकको दर्ता प्रणाली विकास गरिने प्रतिज्ञा गरेकी थिइन् । पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत अध्यागमन नियममा कडाइ गरिएपछि बेलायतको शैक्षिक गन्तव्यको आकर्षण घटन थालेको छ । हायर एजुकेसन पोलिसी इन्सटिच्युट र कप्लान इन्टरनेसनल पाथवेजले गरेको एउटा अनुसन्धानअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायतको अर्थतन्त्रमा वार्षिक २० बिलियन पाउन्डभन्दा बढी योगदान गरेको उल्लेख छ ।

बेलायतले सन् २०१७ मा करिब १५ हजार शरणार्थी लिएको थियो, जसमा ४० प्रतिशत बालबालिका थिए । २० हजार सिरियाली शरणार्थी लिने योजनाअनुरूप १० हजार ५ सय बेलायत आइसकेको ‘अफिस फर नेसनल स्टाटिसटिक्स’ले जनाएको छ ।