१६ चैत्र २०८०, शुक्रबार
Follow Us

२६ वर्षदेखि बन्द रहेको विमानस्थल चैत दोस्रो सातादेखि सञ्चालन हुने

sarusaru
१४ फाल्गुन २०७४, सोमबार ०५:५९

बागलुङ, -बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ ।
आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो ।आज प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण जडानका लागि आइपुग्ने बागलुङ नगरपालिकाले जनाएको छ । आउँदो सातासम्म विमानस्थल सञ्चालनको अन्तिम सम्झौता हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । यसअघि गत पुसमा प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच चैतमा नियमित उडान शुरु गर्ने सहमति भएको थियो । सोही सहमतिपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनको आवश्यक तयारी अघि बढाएको थियो । प्राधिकरणका प्रवन्धक इन्दुराज अधिकारी र इञ्जिनियरद्वय ताराकान्त शाह र मीनराज ओझाको टोलीले विमानस्थलको प्राविधिक अध्ययन गरेको थियो । प्राविधिक टोलीले दिएको सुझावअनुसार मर्मत, सुधार र पूर्वाधार तयारीको काम अन्तिम चरणमा पुगेको प्रमुख पौडेलको भनाइ छ । ‘लक्षित समयमै विमानस्थल चल्छ,’ प्रमुख पौडेलले भने, ‘आउँदो सातासम्म विमानस्थल सञ्चालनको अन्तिम सम्झौता गर्दैछौं ।’ उनका अनुसार उडानलाई सहज बनाउन विमानस्थलको दक्षिण पूर्वमा रहेका सल्लाका रुख हटाउने काम भइरहेको छ । यस्तै, व्यवस्थित तारबार र सुरक्षा प्रवन्धको काम पनि भइरहेको जनाइएको छ । विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा भने प्राधिकरणले लिएको छ । विमानस्थलसम्म पुग्ने सडकको स्तरवृद्धिलगायत अन्य पूर्वाधार निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवर्द्धनमा समेत नगरपालिकाले पहल गर्ने यसअघि भएको सहमतिमा उल्लेख छ । बागलुङ सदरमुकामदेखि ८ किलोमिटरको दुरीमा रहेको विमानस्थलसम्म पुग्न तत्काललाई कालीगण्डकी करिडोरको कच्ची मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालमा आएर बन्द भएको थियो । बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक पहल गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन । सरकारीस्तरबाट विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन आउने गरेपनि त्यो आश्वासनमै सीमित हुने गरेको थियो । पछिल्लो सहमतिपछि भने विमानस्थल चल्नेमा स्थानीयवासी ढुक्क छन् । धवलागिरि क्षेत्रको पर्यटनलगायत समग्र विकासका लागि बलेवा विमानस्थलले महत्वपूर्ण टेवा पुर्‍याउने ठानिएको छ ।