१३ बैशाख २०८१, बिहीबार
Follow Us

गणेश थापालाई नेपाली फुटबलको चिन्ता

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७४, सोमबार १४:३७

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले एन्फाको चुनावमा कर्माछिरिङ शेर्पामा बिजय प्राप्त गरेको खण्डमा नेपाली फुटबलमा सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण अवस्था आउने दाबी गरेका छन् । भ्रष्टाचारको आरोपमा विश्व फुटबल महासंघ (फिफा) बाट प्रतिबन्ध भोगिरहेका थापाले आफुलाई नेपाली फुटबलको बारेमा बोल्ने अधिकार कसैले रोक्न नसक्ने पनि प्रष्ट पारेका छन् ।

सोमबार राजधानीमा फरक उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलन गणेश थापाले फिफाले आफुलाई फुटबलमा प्रतिबन्ध लगाएको तर नेपाली फुटबलका बारेमा बोल्न प्रतिबन्ध नलगाएको जिकिर गरे । आफु पनि स्वर्ण पदक बिजेता खेलाडी भएको उल्लेख गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण ३५ बर्ष खर्चेको नेपाली फुटबलमा को आउँदा राम्रो हुन्छ भन्ने विषयमा बोल्ने अधिकार आफुलाई भएको पनि प्रष्ट पारे ।

उनले नेपाली फुटबल बिग्रिएको टुलुटुलु हेरे बस्न नसक्ने जिकिर समेत गरे । एन्फाको आगामी चैत १४ गते हुने चुनावका लागि अब खुल्ला रूपमा देखिने पनि थापाको भनाई थियो ।

उनले मणि कुँवर र कर्मा छिरिङ शेर्पा सच्चिएर एन्फालाई पार्टीको भातृ संगठनका रूपमा नलगी साँच्चीकै नेपाली फुटबलको बिकास गर्न लागेका हुन भने दुबैलाई सफलताको शुभकामना समेत दिए । प्रतिबन्ध फुकुवा पश्चात फेरि पनि फुटबल क्षेत्रमा आफ्नो आवश्यकता भएको खण्डमा फुटबलको विकासमा फर्कन संकेत पनि थापाले दिए । यसैबीच थापाले नेपाल स्पोट्र्स अर्गनाइजेशन नामक संस्थामार्फत अब खेल क्षेत्र सक्रिय हुने जानकारी पनि पत्रकार सम्मेलनमा गराए ।