१३ बैशाख २०८१, बिहीबार
Follow Us

लालबाबुको आँखा ध्वाँ फाल्ने गाडीमा

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०७४, मंगलवार ११:०२

भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताएका छन् । रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लास्टिक कम्पनीलाई उत्पादनमा प्रतिबन्ध लगाइने बताए ।

उनकाअनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी–साधनलाई प्रतिबन्ध लगाइनेछ । ‘हरियो स्टिकर भएर पनि प्रदूषणयुक्त कालो धुवाँ फाल्ने सवारी–साधनलाई परीक्षण गरी कारबाही गरिनेछ र त्यस्ता सवारी–साधनका कर्मचारीको नामसमेत उल्लेख गरी सवारीधनी र कर्मचारीलाईसमेत कारबाही गरिनेछ’–उनले भने ।

वातावरणको ख्याल नगरी कानुन मिच्दै सन्चालनमा आएका इँटाभट्टालाई वातावरणमैत्री बनाइने र गलत ढंगले सन्चालनमा आएका भट्टालाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ थियो । नेपाल सरकारले तोकेको मापदन्डभन्दा बाहिर गएर आयात गरिएका सामानमासमेत प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै उनले ‘आयात हुने सामानको प्रयोगशाला परीक्षण गरी तोकिएको मापदन्डअनुरुपमात्र नेपाल भित्रिने व्यवस्था गरिनेछ’–भने ।

एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सन्चालन गरी वातावरण बिगार्नेलाई कारबाहीको दायरामा ल्याइने पनि मन्त्री पण्डितले बताए ।