१५ चैत्र २०८०, बिहीबार
Follow Us

संसदीय दलको चुनावलगत्तै कांग्रेसले छायाँ सरकार गठन गर्ने

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०७४, मंगलवार १४:२५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन भएको एक साताभित्रै छायाँ सरकार बनाउने भएको छ । प्रायः निवर्तमान मन्त्रीहरूलाई नै ती मन्त्रालयको छायाँ मन्त्री बनाउन पार्टी सभापति शेरबहादुर देउवालाई सांसदहरूले सल्लाह दिएका छन् ।

गत शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको संयुक्त बैठकले विधान संशोधन गरेको थियो भने अस्ती आइतबार केन्द्रीय समितिबाट अनुमोदन भएपछि उक्त विधान कार्यान्वयनमा आएको छ । जसमा सरकारको कामकारबाहीको अनुगमन गर्न छायाँ सरकार बनाउने अवधारणासमेत छ ।

फागुन २१ गते हुने संसदीय दलको निर्वाचनका लागि चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको छ । २० गते संघीय सांसदहरूले सपथ लिएपछि मात्रै संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने योजनाअनुसार फागुन १५ गते गर्ने भनिएको निर्वाचन सरेको हो । निर्वाचन समितिमा नवीन्द्रराज जोशी र भीष्मराज आङदेम्बे सदस्य छन् ।

संसदीय दलको नेता निर्विरोध चयन गर्नुपर्ने प्रस्ताव नेता भीमसेनदास प्रधानले बैठकमा राख्दा काठमाडौंका नेता प्रकाशमान सिंहले आपत्ति जनाएका थिए । उनको आपत्तिपछि नेता प्रधानले पार्टीको आन्तरिक निर्वाचन भएकाले अखवारबाजी र गालीगलौज नगर्न सुझाव दिएका थिए ।