६ बैशाख २०८१, बिहीबार
Follow Us

अन्तरिम विधान र जनसंगठन एकताको खाका ल्याउन उपसमिति

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०७४, मंगलवार १४:२७

काठमाडौं । पार्टी एकताको प्रक्रियामा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान लेखन र जनवर्गीय संगठनको एकीकरणको खाका तयार गर्न शुरु गरेको छ ।

एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज सम्पन्न संगठनसम्बन्धी कार्यदलकोे बैठकले विधानको खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाल तथा जनवर्गीय संगठनको एकीकरणको प्रस्ताव तयारीका लागि गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको उपसमितिलाई जिम्मा दिएको एमालेका सचिव विष्टले जानकारी दिनुभयो । दुवै उपसमितिले यही फागुन २२ गते बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेश गर्नेछ ।

दुई दलबीच यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकमा सहमति भएको एकीकरणका प्रारम्भिक सात आधारमा सो कार्यदल गठन भएको हो । गत फागुन ८ गते दुई दलबीच एकीकरणका लागि सातबुँदे प्रारम्भिक आधार तय भएपछि संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरिएको थियो । कार्यदलको संयोजकमा केन्द्रका नेता रामबहादुर थापा हुनुहुन्छ ।

वैचारिक प्रतिवेदन तयार गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा अर्काे कार्यदल पनि गठन भएको छ । दुवै कार्यदले यही फागुन २५ गतेभित्र प्रतिवेदन बझुाए पनि आगामी चैतको पहिलो साता एकता गर्ने तयारी छ ।