१३ बैशाख २०८१, बिहीबार
Follow Us

नारायणगढको ढल नारायणीमा

sarusaru
१६ फाल्गुन २०७४, बुधबार ०३:५३

भरतपुर । सरोकारवाला निकायले समयमै ध्यान नदिँदा नारायणी नदी दिनप्रतिदिन प्रदूषित बन्दै गएको छ ।
भरतपुर–नारायणगढ बजार क्षेत्रबाट निस्कने ढल सिधै मिसाइनुको साथै हरेक दिन नदीमा कपडा धुने, गाडी धुने, मरेका पशु फाल्ने जस्ता समस्याले गर्दा पवित्र नदीमा फोहोर बढ्न थालेको हो । उद्योग वाणिज्य संघ, भरतपुर महानगरपालिका, स्थानीय टोल विकास संस्थालगायतका सरोकारवाला निकायले नदी किनारलाई पर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्ने योजनासहित काम गरे पनि यस्ता गतिविधिलाई रोक्न सकेका छैनन् ।
ढल प्रशोधन गर्नको लागि करिब दश वर्ष पहिले एशियाली विकास बैंक (एडीबी)को सहयोगमा निर्माण भएको ढल प्रशोधन केन्द्र पनि अहिले अलपत्र अवस्थामा छ । प्रशोधन केन्द्र निर्माण भए पनि सञ्चालनमा आउन नसक्दा अहिले स्थानीयले बजारबाट निस्केका ढल सिधै नदीमा मिसाउने गरेका छन् । नारायणगढका युवा व्यवसायी चन्दन अग्रवालका अनुसार पोखरा बसपार्कको गौरेश्वर मन्दिरदेखि पुलचोकसम्मको दूरीमा मात्रै आठवटा ढल नदीमा मिसाइएको छ ।
यसरी नदीलाई प्रत्यक्षरूपमा असर पर्ने काम भइरहँदासमेत सरोकारवाला निकाय भने आँखा चिम्लेर बसेको छ । भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघबीचको टकराबले पनि नारायणी नदी प्रदूषणको चपेटामा परेको हो । यस विषयमा महानगर र उद्योग वाणिज्य संघलाई पटकपटक जानकारी गराउँदा पनि खासै चासो नदेखाएको उनले बताए । अब पनि यत्तिकै छोड्ने हो भने आजसम्मको पवित्र नदी भोली वागमती जस्तै बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरे । चितवन जिल्लाको शोभा बढाएको नारायणी नदीमा प्रदूषण बढ्दै जाँदा नदीमा बस्ने जलचर प्राणी प्रत्यक्ष मारमा परेको सोमबार नदी किनार सरसफाइ गर्न पुगेका वातावरण संरक्षणमा सक्रिय ‘वे ग्रुप’का अभियान्ता देवेन्द्र गैरे ‘कैदी’ बताउँछन् ।
नदीनाला भनेको राष्ट्रको गहना भएकोले प्रशोधन नगरी सिधै ढल मिसाउने कामलाई बन्द गर्नुपर्ने ‘वे ग्रुप’ चितवनका सरसफाइ अभियन्ता टेकलाल भुसाल बताउँछन् । ‘बजारबाट निस्केको ढल नदीमा मिसिनुभन्दा अगाडि नै प्रशोधन गरेर पठाउने वातावरण मिलाउनुपर्छ,’ उनले भने । पर्यटनको सम्भावना बोकेको नारायणी नदी किनारको सरसफाइमा सबै पक्षले ध्यान दिनुपर्ने उनले बताए । देशमा बढ्दो फोहोरमैलाकै कारण मानिसलगायत सजीव प्राणीको आयुसमेत घट्दै गएको उनको भनाइ छ ।
नदीमा दिनानुदिन प्रदूषण बढ्दै गएको विषयमा चौतर्फी रूपमा चिन्ता व्यक्त भएपछि भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघलगायतको टोली पनि नदी किनार पुगेर सरसफाइमा सामेल भए । महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतको टोली सरसफाइ गर्न नदी किनार पुगेका हुन् । वे ग्रुप र उमाशंकर ट्रष्टको संयोजनमा भएको सरसफाइ कार्यक्रममा सुनौलो समाज, सामथ्र्य नेपाललगायतको सामाजिक समूह पनि नदी किनार पुगेको थियो ।
सरसफाइसँगै नदी किनारको अवलोकन गर्दै भरतपुर महानगरकी प्रमुख दाहालले सोचेभन्दा बढी फोहोर भएको पाइएकोले तत्काल व्यवस्थापनमा लाग्ने बताइन् । ‘अबको एकदुई दिनभित्रै नदी किनार आसपासको फोहोरमैला व्यवस्थापन गर्छौँ,’ उनले भनिन्, ‘यसको लागि विभिन्न निजी संघसंस्थाहरूसँग सझेदार गरेर छलफल अगाडि बढाएका छौँ ।’ उनी निर्वाचित भएपछि पहिलोपटक नदी किनारको अवलोकनमा निस्केकी हुन् । अवलोकनका क्रममा नारायणी नदीको अवस्था अन्त्यन्तै विकराल देखिएकोले तत्काल यसको व्यवस्थापनमा जुट्ने प्रतिबद्धता जानइन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले विगतका दिनमा महानगरसँगको सम्बन्ध जस्तोसुकै भए पनि अबका दिनमा मिलेर अगाडि बढ्नुपर्ने बताउँछन् । प्रशोधन बिना नै नदीमा ढल मिसाइएको विषयमा महानगरले ध्यान दिनुपर्ने भन्दै उनले भने, ‘यसको लागि उद्योग वाणिज्य संघ सहयोग गर्न तयार छ ।’