१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले संविधान संशोधन गर्न तयार

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७४, बुधबार ०४:४६

काठमाडौं । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै आएको एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ । तर संविधानका कुन कुन धारामा कस्तो संशोधन गर्ने भन्ने बारेमा भने औचित्यका आधारमा छलफल हुने एमालेले जनाएको छ ।
दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गर्नु हुनेछ । त्यसका लागि एमाले र संघीय समाजवादी फोरमका नेताहरुबीच विभिन्न चरणमा वार्ता भएका छन् ।
फोरमसँगको वार्तापछि एमाले नेता सुवास नेम्वाङले आज सहमतिका बुँदामा हस्ताक्षर हुने बताउनु भएको छ । उहाँले सकारात्मक ढंगले छलफल भएको र आज सहमति गरिने जानकारी दिनु भएको छ ।
दुवै पक्षले आ–आफ्नो पक्षबाट सहमतिको मस्यौदा गरिरहेका छन् । कुन–कुन बुँदामा संविधान संशोधन गर्ने भनेर दुवै पक्षले खुलाएका छैनन् । आज शीर्ष तहबाट सहमति जुटाएपछि सहमतिमा हस्ताक्षर हुने र फोरम सरकारमा सहभागी हुनेछ ।
केन्द्र सरकारमा संघीय समाजवादी फोरम सहभागी भएसँगै प्रदेश २ को सरकारमा पनि वाम गठबन्धन सहभागी हुने सम्भावना छ । प्रदेश २ मा फोरम नेतृत्वको सरकारलाई वाम गठबन्धनले विश्वासको मत दिइसकेको छ ।