१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल मगन्ते देश हो : परमानन्द झा

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७४, बुधबार ११:३८

काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले भारत पुगेर नेपाललाई ‘मगन्ते देश’ भन्नु भएको छ । भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्वविद्यार्थी सम्मेलनमा सहभागी हुन जानु भएका झाले भारतीय अखबार ‘दैनिक जागरण’सँग कुरा गर्दै नेपाल ‘मगन्ते देश’ हो भन्नु भएको हो । ‘दैनिक जागरण’ले बुधबारको अंकमा पूर्वउपराष्ट्रपति झासँगको वार्तामा आधारित रहेर समाचार प्रकाशन गरेको छ ।

चीनसँग डराउन जरुरी छैन शीर्षकको समाचारमा त्यो अखबारले पूर्वउपराष्ट्रपति झासँगको वार्तालाई समावेश गरेको छ । पछिल्लो समय चीनसँग नेपालको बढ्दो निकटता र भारतसँग बढेको दुरीबारे सोधिएको प्रश्नमा पूर्वउपराष्ट्रपति झाले, ‘यो भ्रम सिर्जना गर्ने सोच हो । यसमा कुनै सत्यता छैन’ भन्नु भएको छ ।

उहाँले, ‘कुनै पनि देश आफ्नो विकास चाहन्छ । नेपाल पनि विकास गर्न चाहन्छ । यसमा जुन देशले आफूलाई जति मद्दत गर्छ, उसलाई स्वीकार गर्नबाट कहिल्यै हिच्किचाउँदैन । किनकि नेपाल एक मगन्ते अर्थात् माग्नेवाला राष्ट्र हो । जुन देश जति दिन्छ, त्योप्रति उति नै आकर्षण हुनु स्वाभाविक हो’ भन्नु भएको छ ।