१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संसदीय दलको नेता मै हुँ : देउवा

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७४, बुधबार १२:४४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता आफैं हुने बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले होली पर्वको अवसर पारेर बुधबार आफ्नै निवास टोखामा गरेको चियापानमा देउवाले पार्टी सभापति आफू भएकाले संसदीय दलको नेता पनि आफैं बन्ने दाबी गरेका हुन् ।

उनले फागुन २१ गते हुने संसदीय दलको निर्वाचनमा आफूले उम्मेदवारी दिने घोषणा गरे । संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी दाबी गर्दै आएका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सर्वसम्मतको अवस्था नरहेको भन्दै संसदीय दलमा आफ्नो उम्मेदवारी दाबी रहेको बताए । उनले नेतृत्वको कमजोरीले पार्टीको अवस्था खुम्चेको भन्दै अब संसदीय दलको नेतृत्व आफूले लिने बताए ।

नेपाली कांग्रेसको आगामी रणनीति तय गर्न र संसदीय दलको नेतामा सर्वसम्मतको वातावरण बनाउन आयोजना गरिएको चियापानमा महामन्त्री कोइरालाले भने सर्वसम्मत् नेता चयन गर्न आफ्नो भूमिका हुने बताए । उनले संसदीय दलको नेतामा सर्वसम्मत् भए आफूपनि इच्छुक रहेको बताए । महामन्त्री कोइरालाले राखेको चियापान कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका अरु नेता पनि सहभागी थिए ।