८ बैशाख २०८१, शनिबार
Follow Us

इच्छा विपरीत हुने यौन सम्बन्ध बलात्कार

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७४, बुधबार १३:३२

राधिका सापकोटा, अधिकारकर्मी
नेपाली समाजमा महिलामाथि हुने यौनजन्य हिंसा बढ्दो क्रममा छ । दिनप्रतिदिन बालिकादेखि युवती उमेरका महिलामाथि बलात्कार घटना शृंखला बढेका छन् । पछिल्लो समय ‘लिभिङ टुगेदर’ मा रहेन र छुट्टिने सामान्यजस्तै भएको छ । तर त्यसपछि हुने परिणामले नेपाली समाजलाई कता डो¥याउँदैछ भन्ने कुरा महिला अधिकारकर्मीहरूले विश्लेषण गरिरहेका छन् । यिनै प्रसंगमा कानुन व्यवसायी तथा अधिकारकर्मी राधिका सापकोटासँग राज ढुंगानाले गरेको कुराकानी :

० बलात्कारको घटना बढ्दो छ नि ?
– पछिल्लो समय बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेको देखिएको छ । मिडियाले यो इस्युलाई उठाइरहेको हुन्छ, त्यसबेला सबैतिरबाट यस्ता घटना बाहिर ल्याइन्छ । यस्ता घटना अरु बेला पनि भइरहेका हुन्थे । केही घटनाले राष्ट्रियस्तरमै चर्चा पायो । जसले गर्दा एकैपटक धेरै घटना एकैपटक बाहिर आएको हो कि भन्ने जस्तो देखिन्छ । प्रहरीको रिपोर्टलाई विश्लेषण गर्ने हो भने यौनजन्य हिंसाको अवस्था प्रत्येक महिना लगभग उस्तै छन् । तथ्यांकलाई हेर्दा बालिका र अपांगता भएका महिलामाथि बलात्कारका घटना बढी छ ।

० मिडियामा नआए पनि यस्तो घटना भइरहेका हुन्छन् ?
– हो, हरेक महिना, हप्ता, दिन र समयमा कुनै न कुनै हिसाबले यौनजन्य दुव्र्यवहार घटना भइरहेका हुन्छन् । बलात्कार, बलात्कार प्रयासलगायतका यौनजन्य घटना भइरहेका हुन्छन् । कहिलेकाहीँ यस्तो परिस्थिति बनिदिन्छ, सबैको आँखा ती घटनामा पर्छन् ।

० वृद्धमाथि आरोप मात्र लागेको त होइन नि ?
– बलात्कारको घटना नभई बाहिर आउँदैनन् । आइसकेपछि मिलाउने प्रयास गरिन्छ । पैसाको प्रलोभन वा डर धाक धम्की देखाएर पीडितलाई कमजोर बनाउने काम गरिन्छ । जसले गर्दा नभईकन घटना बाहिर आयो कि भन्ने भ्रम छ । बलात्कार महिलाको नैतिकतासँग जोडिएको हुन्छ । एउटा महिला बलात्कृत भइन् भने उसको सर्वस्व गयो भन्ने मान्यता राखिन्छ, जसले गर्दा घटना बाहिर आउन पाउँदैन ।
नचिनेको मान्छेबाट बलात्कार भएको छैन, परिवारको सदस्य वा छिमेकको मान्छेबाट महिला बलात्कार हुन्छन् । माया गरेर जसलाई नजिक बनाएको हुन्छ, उसले छुँदा वा चलाउँदा महिलालाई असजिलो हुँदैन, त्यस्ता मान्छेले विस्तारै आफ्नो नियन्त्रणमा लिएर बलात्कार गर्दछन् । रक्सी सेवन गरिसकेपछि त्यस्ता घटना हुने गरेको विश्लेषणबाट देखिन्छ ।

० मादक पदार्थ सेवनले यो घटना बढ्यो भन्न मिल्छ ?
– मादक पदार्थ सेवन गरिसकेपछि पुरुषले आफ्नो सम्बन्धलाई भुल्ने, कामुकता धेरै हुने अवस्था सिर्जना भएपछि बलात्कारको घटना बढेको हो भन्न सकिन्छ । तर, यो मात्र कारण होइन, महिलामाथि मैले जे गर्दा पनि हुन्छ भन्ने पुरुषवादी सोच तथा अपराधलाई समाजले दिएको संरक्षणले पनि यस्ता घटनामा वृद्धि भएको हो । बलात्कार गर्ने मान्छेलाई समाजले तिरस्कार र घृणा गरेको छैन । बरु उल्टै बलात्कृत हुने बालिका वा महिलाले समाज छोडेर हिँड्नुपर्छ ।

० हाम्रो समाज कता जाँदैछ ?
– बलात्कारलाई कसरी विश्लेषण गर्ने भन्ने कुरा बुझ्नु महत्वपूर्ण हुन्छ । जब महिलाको स्वीकृतिबिना यौन सम्बन्ध राखिन्छ भने बलात्कार हुन्छ । नेपालको कानुनअनुसार आफ्नै श्रीमान्ले पनि श्रीमतीसँग बलात्कार गर्न सक्छ । यदि श्रीमतीको इच्छाबिना वा उसलाई मन नलागेको बेलामा यौन सम्बन्ध राखिन्छ भने त्यो पनि बलात्कार हो । श्रीमान् हुँदैमा जतिबेला पनि यौन सम्बन्ध राख्न खोज्छ भने त्यो पनि बलात्कार हो नि । बलात्कार भनेकै इच्छाबिना हुने यौन सम्बन्ध हो । बलात्कारलाई कानुनले स्पष्ट पारेको छ ।

० सहमतिमै यौन सम्बन्ध राख्ने अनि अदालत जाने ?
– दरबारमार्ग घटनालाई जोड्न खोज्नुभएको होला । एउटा महिलाको इज्जतलाई यौनमा लगेर जोडिएको छ । एउटी महिलामाथि बलात्कार भयो वा सहमतिमै यौन सम्बन्ध भयो भने उसको इज्जतलाई यौनसँग लगेर जोडिएको छ । त्यसैले अधिकांश किशोरीहरू यो घटनालाई दुर्घटनाको रूपमा स्वीकार गर्न सक्दैन । त्यसकारण पनि उनीहरूले कानुनको सहारा लिन जरुरी छ । विभिन्न प्रलोभन वा लालच देखाएर सम्बन्ध हुनसक्छ, यौन सम्बन्ध राख्नुअघि उसले गरेको सर्त पूरा नहुँदै यौन शोषण हुन्छ । यी कुरालाई लिएर अदालतमा गएर न्याय खोज्न पाउँछ । किनभने कानुनले स्पष्ट भनेको छ, ललाईफकाइ, प्रलोभनमा पारेर यौन शोषण गरेको छ भने त्यसलाई बलात्कार हो ।

० बलात्कार घटनामा परिवारका सदस्य कत्तिको जिम्मेवार हुन्छन् ?
– महिलामा निर्णय गर्ने अधिकार कत्ति छ भन्ने हेर्नुपर्ने हुन्छ । एउटी महिलाले ममाथि भएको घटनाबारे मैले के गर्ने भनेर निर्णय गर्ने अधिकार राख्न सक्दिनन् । उसको परिवारले जे गर भन्छ, त्यही भन्ने हो । शक्ति हुनेले शक्ति नहुनेमाथि अन्याय गर्ने हो । त्यसकारण समाज उसको पक्षमा हुँदैन, परिवारसमेत त्यो शक्तिशाली पक्षसँग डराइराखेको हुन्छ । कानुनी प्रक्रिया पनि अप्ठ्यारो छ । एउटा पीडितले न्यायका लागि २० ठाउँमा आफ्नो घटना भन्नुपर्छ । उसलाई डर धाक धम्की र प्रलोभनका कुराले गर्दा मेलमिलापमा जान बाध्य बनाइएको हुन्छ ।

० न्याय दिने निकायका व्यक्तिहरू नै यस्ता घटनामा मुछिन्छन्, यसलाई कसरी बुझ्ने ?
– हामीले न्याय र न्यायिक प्रक्रियालाई विश्वास गर्न सकिरहेका छैनौं । प्रक्रियामै प्रदूषण छ भन्ने कुरा आइरहेको छ । यो एकदमै नराम्रो हो । दण्डहीनताले गर्दा यस्तो भएको हो ।

० यो विषयमा अधिकारकर्मीले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?
– महिला अधिकारकर्मीहरूका लागि यतिबेला नै हो डरलाग्दो अवस्था । हामी संसारसँग लडिराखेका हुन्छौं । समाजको एउटा शक्तिशाली समूहसँग लडिराखेका हुन्छौं । यस्तो बेलामा राज्यको सुरक्षा निकायसँग पनि लड्नुपर्छ । एउटा बलात्कारको केसमा प्रहरीले पैसा खाएर मिलाउने काम ग¥यो, त्यतिबेला हामीले लगातार दुई वर्षसम्म लडिराख्यौं । त्यसबेला हामीले सबैभन्दा बढी असुरक्षाको महसुस ग¥यौं । महिला अधिकारकर्मीले कुरा उठाइरहेकै छन्, यो महिला अधिकारकर्मीले उठाउने विषय मात्र होइन, आमनागरिकको चासोको विषय पनि हो ।