१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कान्तिपुरको पेसी आइतबारलाई सर्‍यो

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७४, शुक्रबार १०:३०

काठमाडौं । कान्तिपुरविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दाको पेसी आइतबारसम्मका लागि सरेको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले लगाएको अवहेलना मुद्दामा बयान दिन कान्तिपुर पब्लिकेशन्सको टोली शुक्रबार सर्वोच्च अदालतमा उपस्थित भएपनि समयाभाव भएको भन्दै सर्वोच्च अदालतले आइतबारका लागि पेसी सारेको हो ।

सर्वोच्चका प्रवक्ता नारायण पन्थीले शुक्रबार आधा दिनमात्रै कार्यालय खुल्ने भएकाले आइतबारसम्मका लागि पेसी सारिएको बताए । बयानका लागि कान्तिपुर पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा तथा संवाददाता कृष्ण ज्ञवाली सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चबाट बाहिरिनेक्रममा कान्तिपुरका अध्यक्ष सिरोहियाले आफूहरुले अदालतको आदेशको सम्मान गर्ने र प्रेस स्वतन्त्रताका लागि जस्तोसुकै कदम चाल्न पनि तयार हुने बताए । कान्तिपुर दैनिकमा प्रधानन्यायाधीश पराजुलीको फरक–फरक जन्ममिति र एसएलसीको प्रमाणपत्रलगायतको विषयमा समाचार प्रकाशन गरिएका सम्बन्धमा अवहेलनाको मुद्दा लगाइएकामा सर्वत्र विरोध भइरहेको छ ।

शुक्रबार कान्तिपुर टोली बयानका लागि अदालत पुग्दा पत्रकारका साथै मानवअधिकारकर्मी, कानुन व्यवसायी र राजनीतिक दलका नेताहरुसमेत अदालत परिसर पुगेका थिए ।