७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसले आज मन्त्रीको टुंगो लगाउने

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७३, मंगलवार ११:२०

काठमाडौं । नेपाली कांग्रेसले आज मंगलबार साँझभित्र नयाँ सरकारमा आफ्नो पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउने भएको छ । पार्टीका तर्फबाट बन्ने मन्त्रीहरूको टुंगो लगाई बुधबार साँझसम्म पद तथा गोपनीयताको शपथसमेत गराउने कांग्रेसको तयारी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीका तर्फबाट बन्ने मन्त्रीहरूको सूची बुझाउने गरी गृहकार्य अगाडि बढाएका छन् । यसका लागि देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रभावशाली नेताहरू कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्कासँग समेत छलफल गरिरहेका छन् ।
उपचारका लागि बुधबार सिंगापुर जाने भनिएका देउवाले मन्त्रीहरूको टुंगो लगाउन नसकेपछि कार्यतालिका दुई दिन धकेलेका छन् । उनी अब शुक्रबार मात्र सिंगापुर जानेछन् ।
समयमै मन्त्रीहरूको टुंगो लगाउन नसकेको भन्दै आलोचना खेप्दै आएका सभापति देउवामाथि यथाशक्य चाँडो मन्त्रीहरूको टुंगो लगाउन दबाब छ । प्रधानमन्त्री दाहालले समेत मन्त्रीहरूको टुंगो लगाई सूची बुझाउन देउवालाई दबाब दिइरहेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आफ्नो आलोचना हुन थालेको जनाउ पनि प्रधानमन्त्री दाहालले देउवालाई दिएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारी काम कारबाहीमा पनि गम्भीर असर पर्न थालेको अनुभव पनि दाहालले गर्दै आएका छन् ।
बुधबारभित्र मन्त्रीहरूको टुंगो लगाउने भनिए पनि परराष्ट्रमा अझै कुरा मिल्न सकेको छैन । डा. शेखर कोइराला परराष्ट्र नपाए सरकारमै नजाने अडानमा छन् । कोइरालाको यस्तो अडानले देउवा समस्यामा परेका छन् ।
देउवानिकट मानिने डा. प्रकाशशरण महतले यसपटक परराष्ट्रमा चासो राखेका छन् । पार्टीको १३औं महाधिवेशनमा सभापतिमा देउवालाई विजयी बनाउन महŒवपूर्ण भूमिका निभाएका र नेविसंघ महाधिवेशन पनि सम्पन्न गराएका डा. महतको चाहना देउवाले लत्याउन सक्ने स्थिति नभएको स्रोतको भनाइ छ ।
देउवाले शिक्षा मन्त्रालयको जिम्मेवारी लिन अर्जुननरसिंह केसीलाई राजी गराइसकेको स्रोतको दाबी छ । पाए पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्ने, सम्भव नभए गृहमन्त्री बन्ने केसीको योजना थियो । तर, सम्भव नभएपछि उनी शिक्षामा जान राजी भएका हुन् ।
यस्तै, देउवाले बालकृष्ण खाँडलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिने निश्चित भएको छ । कोषाध्यक्ष सीतादेवी यादवलाई महिला मन्त्री दिने सहमति भएको छ । कर्णालीका जीवन शाही पनि यसपटक मन्त्री हुने भएका छन् । महामन्त्री डा. शशांक कोइरालाको सिफारिसमा दाङका दीपक गिरीलाई पनि मन्त्री बनाइने निश्चितजस्तै भएको छ ।
पौडेल समूहबाट आनन्द ढुंगाना, नवीन्द्रराज जोशी र राजन केसीको नाम चर्चामा छ । देउवा समूहबाट तारामान गुरुङ, भीष्म आङदम्बे र रामहरि खतिवडाको पनि नाम चर्चामा छ । सिटौला पक्षका भीमसेदान प्रधान र गगन थापामध्ये एकजना मन्त्री हुने भएका छन् । खुमबहादुर खड्काको पक्षबाट मोहन बस्नेत र शंकर भण्डारीमध्ये एकजना मन्त्री हुने भएका छन् । भण्डारीसँग देउवा त्यति सकारात्मक नभएको स्रोतको भनाइ छ ।
यसैगरी, चार या पाँचजना राज्यमन्त्री थपिने भएका छन् । राज्य मन्त्रीमा रोल्पाका अमर पुन, दाङका राजु खनाल, संखुवासभाका दीपक खड्का, महोत्तरीका किरण यादवको बढी सम्भावना छ ।