१३ बैशाख २०८१, बिहीबार
Follow Us

संघीय संसद सदस्यको आज शपथ

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७४, आईतवार ०४:५४

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले आज शपथ लिँदै छन् । प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको पाँच बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ । ४४ सांसदले १० वटा मातृभाषामा शपथ लिने छन् । अरुले नेपाली भाषामै सपथ लिने बताइएको छ ।

संघीय संसदको पहिलो बैठक भोलि बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराउन लागिएको हो ।
प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य महेन्द्रराय यादवले र राष्ट्रियसभाका सांसदहरुलाई जेष्ठ सदस्य तारादेवी भट्टले शपथ ग्रहण गराउनेछन् ।

त्यसअघि राजपा नेता यादव र कांग्रेसकी भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ । दिउँसो १ बजे राष्ट्रपति भण्डारीले यादव र भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रियसभा सदस्य ६९ वर्षीया तारादेवी भट्ट ज्येष्ठ सदस्य हुनुहुन्छ । राष्ट्रियसभामा मनोनीत सदस्य डा. युवराज खतिवडा, रामनारायण बिँडारी र डा. विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वाेच्चले आदेश दिएकाले उहाँहरूको शपथ नहुने भएको छ ।

फौजदारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबाट कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उहाँहरू आएमा शपथ लिन सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुनुहुन्छ । दुवै सदनको संयुक्तरूपलाई संघीय संसद् भनिन्छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदन मानिन्छ ।