१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दानका भरमा संस्कृत विद्यालय

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७४, आईतवार ०७:५९

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मावि दानका भरमा चलेको छ । धार्मिक विद्यालयका नाममा आउने न्यून सरकारी अनुदानले विद्यालयको खर्च धानिने अवस्था छैन । विद्यालयमा १८ जिल्लाका ७० विद्यार्थीले आवसीय सुविधासहित निःशुल्क पढ्न पाएका छन् । भोजनमा मात्र दैनिक रु पाँच हजार खर्च लाग्ने विद्यालय दानदाताकै सहयोगमा चलेको प्रअ शान्ति ज्ञवालीले बताउनुभयो ।

“व्यक्ति र संघसंस्थाले दिने दान र सहायताकै भरमा विद्यालय धानिएको छ”, उहाँले भन्नुभयो, “विद्यालयप्रति सबैको सद्भाव र सहानुभूति छ ।” पितृकार्य, जन्मदिन र विभिन्न धार्मिक कार्यका अवसरमा दाताले विद्यालयलाई सहयोग गरेका छन् । प्रअ ज्ञवालीका अनुसार ५० भन्दा बढी स्थानीयवासीले दैनिक मुष्ठीदान गर्दै आएका छन् । “दिनको रु तीन मन्दिरलाई दान गर्नुहुन्छ, जसबाट वार्षिक रु एक हजार २६० हुन्छ”, उहाँले भन्नुभयो ।

“खर्च धान्न धौ धौ हुँदा मागेर पनि चलाउने गरिएको विद्यालयका व्यवस्थापक स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । तीर्थयात्रीबाट पनि विद्यालयमा दान प्राप्त हुने गरेको उहाँको भनाइ छ । दाताकै सहयोगमा विद्यालयको भौतिक संरचना फेरिएको छ । विद्यालय भवन निर्माणमा जिल्ला शिक्षा कार्यालयले पनि अनुदान उपलब्ध गराएको छ ।

विद्यालयमा दुई दुई स्थायी र राहत दरबन्दीका शिक्षक छन् । दुई शिक्षक भने स्थानीय स्रोतबाट राखिएको प्रअ ज्ञवालीले जानकारी दिनुभयो । विसं २०४२ मा स्थापित विद्यालय २०७० सालसम्म गुरुकुल प्रणालीमै सञ्चालित थियो । विसं २०७१ मा जिल्ला शिक्षा कार्यालयबाट कक्षा ६ को अनुमति लिई संस्कृतसँगै अन्य आधुनिक विषयको पठनपाठन शुरु गरिएको हो । अहिले कक्षा ९ सम्म पढाइ भइरहेको र कक्षा १० को अनुमतिका लागि प्रक्रिया अघि बढेको जनाइएको छ ।

कक्षा १२ सञ्चालन गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहदेव राजभण्डारीले बताउनुभयो । “दाताहरुकै सहयोगमा विद्यालय सञ्चालित छ”, उहाँले भन्नुभयो, “दैनिक भोजन, विद्यार्थीको पोशाक र आवासमा ठूलो खर्च छ ।” राजभण्डारी आफँैले पनि विद्यालयमा रु पाँच लाखको अक्षयकोष खडा गर्नुभएको छ । विद्यालयको दिगो विकासका लागि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । विद्यालयमा संस्कृततर्फ वेद, व्याकरण, कर्मकाण्ड र संस्कृत भाषा तथा आधुनिकतर्फ नेपाली, अंग्रेजी, गणित र सामाजिक विषयको पढाइ हुने गरेको छ ।

सो विद्यालयमा पढेका अधिकांश विद्यार्थी संस्कृत विषयमा उपल्लो तहको अध्ययनका लागि भारत जाने गरेका छन् । कुँडुलेमै जन्मनुभएका स्वामी श्रीधराचार्यले स्थापना गरेको विद्यालयले वैदिक धर्म र संस्कृतिको उन्नयनमा टेवा पु¥याउँदै आएको छ । विद्यालय परिसरमा प्रसिद्ध श्रीरंगवेंकटेश मुक्तिनारायणको मन्दिरसमेत छ ।