१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रियसभाका ५५ सदस्यद्वारा शपथ

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७४, आईतवार १२:२८

काठमाडौं । राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उहाँहरुलाई शपथ दिलाउनुभएको हो । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिनुभएको थियो । शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित हुनुभएन ।

मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभामा नेकपा (एमाले) का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ ।

शपथ ग्रहणपछि संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त भयो । त्यसपछि राष्ट्रियसभा सदस्यलाई तोकिएको लोगो लगाउन भनिएको थियो । सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना सदस्यलाई भने सर्वाेच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उहाँहरुको शपथ रोकिएको हो ।

यसअघि ज्येष्ठ सदस्य भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ दिलाउनुभएको थियो । राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व रहेको छ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहने ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रको विविध क्षेत्रका बौद्धिक व्यक्तित्वहरु उपस्थिति रहने गर्छ ।

संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभा पहिलो पटक गठन भएको हो । नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था रहेको छ । छ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाईको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । संविधानको धारा ८८ बमोजिम सदन वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।