१२ बैशाख २०८१, बुधबार
Follow Us

हामीलाई रोक्ने तागत मोर्चासँग छ ?

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७३, मंगलवार १५:२२

जस्मिन मण्डल, केन्द्रीय सदस्य, फोरम (लोकतान्त्रिक)
जस्मिन मण्डल कुनै बेला फेसन डिजाइन पढ्न काठमाडौं आएकी थिइन् । उनको वास्तविक नाम जस्बी हो, न थपेर जस्मिन बोलाउन नाम बनाइयो । जस्बीको अर्थ कोहीसँग नडराउने । नामजस्तै काम गर्न रुचाउने जस्बीले फेसन डिजाइनमा भविष्य नदेखेपछि राजनीतिमा लागिन् । पञ्चायत राजनीतिमा नाम कमाएका बद्रीप्रसाद मण्डलकी भतिजी जस्बीसँग कुमार राउतले गरेको कुराकानी :
० फोरम लोकतान्त्रिक पार्टी सत्ता भनेपछि मरिमेट्छ रे नि ?
– हो, मैले पनि त्यस्ता अफवाह सुनेकी छु । त्यति मात्र होइन, हाम्रो पार्टीलाई सरकारमा जान उपेन्द्र यादवको मोर्चाले रोकेको छ भन्ने पनि सुनेको छु । तर ती कुरामा कुनै सत्यता छैन । हाम्रो पार्टीले देश र समाज परिवर्तनमा महŒवपूर्ण भूमिका खेलेको छ, खेलिरहन्छ । त्यो भूमिका निर्वाह गर्न हामीलाई कसैले रोक्न सक्दैन ।
० कांग्रेस–माओवादी गठबन्धनमा तपाईंको दल सामेल हुन्छ त ?
– यस विषयमा मैले अध्यक्षज्यूसँग विराटनगर आउँदा कुरा गरेकी थिएँ । उहाँले सम्मानजनक पद पाइयो भने सरकारमा सामेल हुने जानकारी दिनुभएको छ । दुईवटा मन्त्रालय हाम्रो भागमा परेको छ । सरकारमा अध्यक्ष सामेल नभए पनि अन्यलाई पठाउनुपर्छ भन्ने कार्यकर्ताको माग हो ।
० सम्मानजनक पद भनेको कुन हो ?
– हाम्रो अध्यक्ष विजयकुमार गच्छदारज्यू यसअघिको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री भइसक्नुभएको छ । अब उहाँ त्योभन्दा तल झरेर मन्त्री बन्नुहुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले उपप्रधानमन्त्रीसहितको मन्त्रालय हाम्रो पार्टीले पायो भने सरकारमा जान्छ भनिएको हो ।
० अरुलाई मन्त्री सिफारिस गरेर पठाउन मिल्दैन ?
– त्यसबारे पनि कुराकानी अघि बढेको होला, म जिल्लामा छु । तर आमकार्यकर्ताको माग भनेको अध्यक्षज्यूले सम्मानजनक पद पाउनुभएन भने अन्यलाई मन्त्रीमा सिफारिस गरेर पठाउनुपर्छ भन्ने हो ।
० अध्यक्षले अरुलाई मन्त्री सिफारिस गर्नुहोला ?
– हाम्रो पार्टीमा सर्वशक्तिमान अध्यक्षज्यू नै हुनुहुन्छ । सर्वशक्तिमान भए पनि उहाँ एक्लैले पार्टी हाँक्ने होइन होला । पार्टी सञ्चालनका लागि पदाधिकारी र केन्द्रीय समिति छ, केन्द्रीय समितिको निर्णय अध्यक्षज्यूले मान्नुहुन्छ भन्ने मलाई लाग्छ ।
० तपाईंको अध्यक्षमाथि भ्रष्टाचार गरेको आरोप लगाइएको छ नि ?
– भनेर मात्र हुन्छ, प्रमाणित गर्नुपर्दैन । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय राज्यसँग छँदैछ नि । यदि भ्रष्ट हो भने छानबिन गरोस् न ।
० सांसद र राजदूत पद बेचेको आरोप छ नि ?
– यस्ता आरोप राजनीति गर्ने व्यक्तिलाई लाग्नु स्वाभाविक हो । मधेसको मुद्दालाई उठाएर बलियोसँग संसद्मा प्रस्तुत गर्ने हाम्रो पार्टीमाथि यस्ता आरोप लाग्नुको कुनै तुक छैन । पार्टीलाई समावेशी चरित्रको बनाउन सबै जाति र वर्गलाई समेट्ने प्रयास भएको छ ।
० फोरम लोकतान्त्रिकलाई उपेन्द्र यादवको मोर्चाले सरकारमा जाने रोकेको भनिन्छ नि ?
– सरकारमा जानबाट रोक्ने तागत उपेन्द्र यादवको मोर्चामा छ जस्तो मलाई लाग्दैन । दोस्रो कुरा, मधेसको मुद्दामा हाम्रो पार्टीले जस्तो सदनमा बुलुन्द आवाज अरुले उठाएका छैनन् । कसले राक्यो, रोकेन भन्दा पनि एजेन्डा मिल्यो भने नीति निर्माण तहमा पुगेर संविधान कार्यान्वयनका लागि सहयोग गर्नु हाम्रो पार्टीको उद्देश्य हो ।
० कति भो राजनीतिमा लाग्नुभएको ?
– म पनि राजनीतिक पृष्ठभूमिकै व्यक्ति हुँ । कलेज अध्ययनताका मधेस राजनीतिमा संलग्न भएँ । पछि फोरम लोकतान्त्रिक गठन भएपछि त्यसको युवा केन्द्रको सदस्य हुँदै अहिले केन्द्रीय सदस्य छु ।
० केन्द्रीय सदस्य सबै अध्यक्षले मनोनीत गरेको होइन र ?
– केही समयअगाडि पहिलो अधिवेशन विराटनगरमा सम्पन्न भएको हो । उक्त अधिवेशनबाट सम्पूर्ण पदाधिकारी नियुक्ति गर्ने जिम्मेवारी अध्यक्षलाई दिइएको थियो । उहाँले भूगोल, जाति, लिंग, धर्म सम्प्रदाय हेरेर कार्यसमिति बनाउनुभएको छ ।
० तपाईंले के जिम्मेवारी पाउनुभयो ?
– युवा फाँटको जिम्मेवारी वहनबाट प्रभावित भएर होला अध्यक्षज्यूले मलाई केन्द्रीय सदस्य बनाउनुभएको छ । त्यसपछिको जिम्मेवारी कसैको पनि तोकिएको छैन । अबका दिनमा मेरो योग्यता, क्षमता र कुशलता पार्टीले उपयोग गर्छ भन्ने मलाई विश्वास छ ।
० कस्तो जिम्मेवारीको अपेक्षा गर्नुभएको छ ?
– कपाल फुलेको मान्छेले मात्र सुझबुझको राजनीति गर्न सक्छ भन्ने हाम्रो समाजमा भ्रम छ । युवाहरूमा भिजन हुन्छ, संगठन गर्न सक्ने कौशलता हुन्छ । देश र समाज परिवर्तनका लागि युवाहरूले महŒवपूर्ण भूमिका खेल्न सक्छन् भन्ने कुरा नेतृत्वले बुझ्यो भने मलाई पुग्छ ।
० के क्षमता छ तपाईंसँग ?
– मेरो क्षमता म आफैंले कसरी भन्दै हिँड्नु ? मैले अहिलेसम्म गरेको कामको मूल्यांकन गरे पुग्छ । म आफ्नो क्षेत्रमा आफूलाई सक्षम ठान्छु ।
० राजनीतिबाहेक अरु के गर्नुहुन्छ ?
– वन र वातावरणसम्बन्धी गैरसरकारी संस्था सञ्चालन गर्छु । मोरङको प्रत्येक गाउँपालिका, उपमहानगर र नगरपालिकाको वडा–वडामा वातावरणसम्बन्धी सचेतना फैलाउने काम गर्छु । यो कामले मलाई प्रत्येक वडावासीसँग जोड्ने काम गरेको छ । हामीजस्ता युवाहरू नागरिकसँग जोडिएर काम गर्नुपर्छ भन्ने मान्यता मेरो हो ।
० कहाँबाट आउँछ फन्ड ?
– सबैभन्दा पहिले काम गर्ने इच्छाशक्ति हुनुपर्छ । इच्छाशक्ति भयो भने फन्डले रोकिँदो रहेनछ । अहिलेसम्म प्रत्येक नागरिकसँग सामीप्यमा रहेर वन र वातावरणसम्बन्धी काम गर्न पुगिरहेको छ ।
० राजनीतिक पृष्ठभूमि सुनाउनुहोस् न ?
– पञ्चायत र मधेसको राजनीति गर्नुभएका मेरा ठूलाबुबा बद्री मण्डल हुनुहुन्छ । उहाँका छोराछोरी मात्र होइन, मेरा दाजुभाइ र दिदीबहिनीसमेत कोही राजनीतिमा छैनन् । म चाहिँ ठूलोबुवाको बिँडो थाम्ने कोसिस गर्दैछु ।
० घरबाट सहयोग पाउनुभएको छ ?
– आत्मनिर्भर छु, त्यसैले सहयोग पाएकी छु, यदि आत्मनिर्भर नभएकी भए मैले मात्र होइन, जुनसुकै समुदायका महिलालाई राजनीतिमा टिक्न सजिलो छैन । धेरै चुनौती छन्, म ती चुनौती सामना गर्दै अघि बढिरहेकी छु ।
० विवाह गर्नुभयो ?
– छैन, म माइली छोरी हुँ, मेरो परिवारमा अरुको सबैको विवाह भइसक्यो । सबै आ–आफ्नै पेसा व्यवसाय छन्, मैले चाहिँ राजनीतिमा लागेर समाज र देशको सेवा गर्ने चाहना राखेकी छु ।
० विवाह किन नगर्नुभएको ?
– यो प्रश्नको जवाफ मेरो वशमा छैन । विवाहका लागि प्रस्तावहरू नआएका पनि होइनन्, तर मेरो जुन उत्कट चाहना हो, त्यो फुलफिल गर्ने प्रस्ताव आएन ।
० के हो नि त्यो चाहना ?
– पहिलो कुरो, म अन्तरजातीय विवाहको सपोर्टर हुँ, दोस्रो कुरा महिलालाई राजनीतिमा पे्ररित गर्ने व्यक्ति चाहियो । यद्यपि विवाहका लागि समय बितिसकेको छैन । हेरौं, त्यो चाहना पूरा हुन्छ होला भन्ने कुरामा म आशावादी छु ।
० एक्लो जीवन कसरी बिताउँदै हुनुहुन्छ ?
– मकहाँ एक्लो छु र ? घरमा गए परिवार छ, बाहिर निस्के साथीभाइ भेटिन्छन् । जनताको सेवक हुँ, आफूलाई एक्लो ठान्दिनँ ।