८ बैशाख २०८१, शनिबार
Follow Us

किन आए पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७४, सोमबार १३:२४

काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आज यहाँ आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभएको थियो । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।

समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिनुभएको थियो । प्रधानमन्त्री ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको छ । उहाँहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा केही बेरअघि छलफल शुरु भएको हो । दुई प्रधानमन्त्रीको भेटवार्ता सकिएलगत्तै उहाँहरु रात्रिभोजमा सरीक हुनुहुनेछ ।