१५ चैत्र २०८०, बिहीबार
Follow Us

पुनः एकताको गृहकार्यमा राप्रपाका समूह

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७४, सोमबार १३:२६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजित भई विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ता बलियो पार्टी निर्माणका लागि पुनः एकताको गृहकार्यमा जुटेका छन् । मुलुकमा सम्पन्न भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा । राष्ट्रियसभाका चुनावमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि उनीहरूले मुलुकको संरचनानुसार देशैभर पार्टीका संगठन विस्तारका लागि सक्रियता देखाएका छन् । हालै भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राप्रपा, राप्रपा(प्रजातान्त्रिक) र एकीकृत राप्रपा(राष्ट्रवादी) भएर प्रतिष्पर्धा गरेका कारण पराजय भोगेको अनुभव तीनै दललाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माणको खाँचो रहेकाले एकीकृत दल बनाउन विभिन्न दलका नेतासँग अनौपचारिक छलफल शुरु भइरहेको जानकारी दिनुभयो ।

मुलुकमा बहुदलीय व्यवस्था शुरुआत भएसँगै पूर्व प्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले २०४७ साल जेठ १५ गते दुई राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरेर संगठन विस्तारको शुरुआत गर्नुभएको थियो । निर्वाचन आयोगमा दल दर्ता हुँदा तिनको नाम राप्रपा(थापा) र राप्रपा(चन्द) थियो । समय समयमा सोही पार्टी विभिन्न भागमा छरिएर राष्ट्रियता, प्रजातन्त्र, जनताको समृद्धिको विषय उठाउँदै नेताहरूले राजनीतिक गतिविधिमा केन्द्रित हुने त कहिले एकताबद्ध भई पुराना अनुभव, धर्म तथा संस्कृतिको संरक्षणका लागि राजनीतिक आवाज उठाउँदै आएका छन् ।

विसं २०४८को आमनिर्वाचनमा राप्रपा(चन्द)बाट तीन र राप्रपा(थापा)बाट एक जना विजयी भएकामा पछि एकीकृत भएपछि प्रतिनिधिसभामा २० जना सांसदसम्म विजयी गराई नेकपा(एमाले) र नेपाली काँग्रेससँग मिली थापा र चन्द दुवै जना संसदीय प्रजातान्त्रिक प्रणालीमा प्रधानमन्त्री बन्न सफल भए । संविधासभा निर्वाचनमा तत्कालीन राप्रपा(नेपाल) र राप्रपाबाट गरी कूल ३७ जना सांसदसम्म भई दलका नेताहरु उपप्रधानमन्त्री र मन्त्रीहरु भए ।
स्थानीय तह र प्रदेशसभामा केही स्थान पाए पनि प्रतिनिधिसभा निर्वाचनमा भने झापा–३ मा मात्र वाम गठबन्धनसँग सहकार्य गरी महामन्त्री राजेन्द्र लिङ्देन मात्र राप्रपाबाट विजयी भए । तीनै दल राष्ट्रिय दल हुनबाट चुके ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा तथा विभिन्न राष्ट्रवादी मोर्चासँग एकीकरण गर्नेलगायत विषयमा छलफलका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बोलाएको छ । पार्टीका प्रवक्ता भुवन पाठकका अनुसार एकताका गृहकार्य भइरहेको भए पनि त्यसको वैचारिक आधार प्रष्ट भइसकेको छैन ।

पूर्वपञ्चका दल एकताबद्ध भई बलियो संगठन निर्माणका लागि यसअघि पनि केही नेताहरूले प्रयत्न गरेका थिए । अहिले सबै दलका नेताले व्यक्तिगत स्वार्थ त्यागेर मुलुक र जनताको आवश्यकतालाई प्राथमिकतामा राखी एकता प्रक्रिया अगाडि बढाउनुपर्ने विचार एकीकृत राप्रपा (राष्ट्रवादी) का सहमहामन्त्री प्रदीपविक्रम राणाले व्यक्त गर्नुभयो ।

राष्ट्रिय चरित्र बोकेका संस्थाले मात्र मुलुकमा विभिन्न जाति तथा समुदायबीचको एकतालाई निरन्तर कायम राख्न सक्ने मान्यतालाई स्थापित गराउनसके चाँडो एकता कायम हुन सक्ने सोही पार्टीका नेता सुन्दर पाण्डेले बताउनुभयो ।

ती पार्टीका दोस्रो पुस्ताका केही नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिले पनि तीन वटै दलका अध्यक्षले नेतृत्व बाहिर बसेर पार्टीको अभिभावकत्व लिनुपर्ने र पार्टीको नयाँ नाम राखेर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने सुझाव दिएका छन् । तीन वटै दलको औपचारिक बैठकमा सो विषयमा छलफल गरिने बताइएको छ ।